धरानः नेपाल लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार बंगलादेशसँग भिड्दै छ । यसअघि पाँचपटक फाइनल पुगेर उपाधिविहीन नेपालले बुधबार साविक विजेता बंगलादेशसँग खेल्न लागेको हो ।
गत संस्करणमा घरेलु मैदानमा बंगलादेशसँग पराजित हुँदा नेपाल उपाधिविहीन बनेको थियो । यसपटक फेरि यी दुई टोली दशरथ रंगशालामा नै आमनेसामने हुँदै छन् । यसपटक नेपाली टोली उपाधिको अवसर खेर नफाल्ने लक्ष्यमा छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने बताएकी छन् । कप्तान एञ्जिला पनि यसपटक टिम बन्डिङ राम्रो भएकाले उपाधि जित्नेबाहेक केही नसोचेको बताउँछिन्। उपाधि भिडन्तको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्जिलाले सधैँ फाइनलमा हार्दै आए पनि यसपटक अवसर नगुमाउने विश्वास व्यक्त गरिन् ।
उनले बंगलादेश धेरै राम्रो टोली भए पनि आफूहरू विपक्षीलाई चुनौती दिन तयार र सक्षम रहेको बताइन् । उनले सेमिफाइनलमा अहिलेसम्मकै धेरै समर्थकको साथ पाएको स्मरण समेत गरिन् ।
अहिलेको पुस्ताले पनि जित्न नसके नयाँ बलियो टोली निर्माणका लागि ५–१० वर्ष लाग्न सक्ने उनको भनाइ छ । त्यसैले पनि आफूहरू उपाधि जित्ने यो राम्रो अवसर गुम्न नदिने उनी बताउँछिन् ।
गत संस्करणमा बंगलादेशसँग पराजित भएको स्मरण गर्दै उनले यसलाई बदलाका रूपमा भन्दा च्याम्पियन बन्ने अवसरका रूपमा लिने उनले बताइन् ।
‘अहिले जितेनौँ भने फेरि ५–१० वर्ष कुर्नुपर्छ’, उनले भनिन्, ‘हाम्रो टिम बन्डिङ पनि राम्रो छ, भोलि जित्नुपर्छ।’
च्याम्पियनसिपको फाइनल बुधबार साँझ साढे ६ बजे हुनेछ। नेपाल यसअघि ५ पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन।
नेपालले साविक विजेता बंगलादेशसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ ६ः३० बजे खेल्दै छ । गत संस्करणमा नेपालमाथि ३–१ को जित निकाल्दै बंगलादेश पहिलोपटक च्याम्पियन बनेको थियो ।