Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तिहारमा कसरी बनाउने आकर्षक रंगोली ?

हाम्रो कोशी आवाज
कार्तिक १५ २०८१, बिहिबार
तिहारमा कसरी बनाउने आकर्षक रंगोली ?

-मनिषा थापा
सप्तरंगी पर्व, तिहार । दियो-बत्तीको उज्यालो, देउसी-भैलोको मधुर धुन, सेलरोटीको सुगन्धसँगै घर-आँगनमा बनाइने रंगोलीले तिहारको रौनक थप्छ ।
कुनै पनि शुभकार्यमा रंगोली बनाउने प्रचलन छ । यद्यपि अन्य अवसरमा भन्दा पनि तिहारको बेला घर-आँगनमा रंगोली बनाएको देखिन्छ ।
रंगोलीको महत्व
रंगोलीको एक नाम अल्पना पनि हो । अल्पना वात्स्यायनको कामसूत्रमा वर्णित चौसठी कलामा एक हो । यो अति प्राचीन लोककला हो । प्राचीनकालमा विश्वास गरिन्थ्यो कि, घरमा कलात्मक चित्र, आकृतिले धन ऐश्वर्य प्राप्त हुन्छ ।
रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतीक मानिन्छ । यसलाई आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग मानिन्छ । अहिले घर-आँगनमा लिपपोत गरेर रंगोली बनाइन्छ । यसले भूमि शुद्धीकरणको भावना एवं समृद्धिको आह्वान गरिएको बुझिन्छ ।
यसको अर्को अर्थ के पनि हो भने हाम्रो शरीर नश्वर छ भन्ने जान्दाजान्दै पनि जीवनलाई रंगीन बनाउनुपर्छ भन्ने यसको सांकेतिक अर्थ छ । यो रचनात्मक अभिव्यक्तिको माध्यम समेत हो ।

रंगोली बनाउने चलन पहिलेदेखि नै
चाडपर्वमा रंगोली बनाउने चलन सदियौंदेखि चलिआएको छ । रंगोली शब्द संस्कृत शब्द ‘रंगावली’बाट आएको हो, जसको अर्थ रंगहरूको पंक्ति हो ।
रंगोली एक त्यस्तै सांकेतिक आकृति हो । रंगोलीलाई धार्मिक, सांस्कृतिक आस्थाको प्रतीक पनि मानिन्छ । कुनै पनि आध्यात्मिक प्रक्रियामा रंगोलीलाई महत्वपूर्ण मानिन्छ । त्यसैले हवन वा यज्ञमा रंगोली बनाइन्छ । घर-आँगनमा रंगोली बनाउँदा घर शुद्ध हुन्छ भन्ने विश्वास छ ।
पूर्वीय शास्त्रअनुसार कुनै पनि शुभकार्य सुरु गर्नुअघि रंगोली मनाउँदा त्यहाँ सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । यसका साथै यदि त्यस स्थानमा कुनै नकारात्मक ऊर्जा छ भने त्यो नष्ट हुन्छ ।
कुन दिशामा उपयुक्त ?
रंगोली घरको कुन दिशामा बनाउने भनेर किटान गरिएको छैन । लक्ष्मीलाई रंगोलीले स्वागत गर्ने भएको हुँदा घरको मूलद्वार अगाडि बनाउनु शुभ मानिन्छ ।
त्यस्तै घरको मूलद्वारबाट सकारात्मक उर्जा पनि आउने भएकाले विशेष मूलद्वारअघि नै बनाउनुपर्ने बताइन्छ ।

परम्परागत रंगोली कस्तो हुनुपर्छ ?
तिहारको लागि रंगोली स्वस्तिक चिन्ह वा गणेशजीको आकृतिमा सजाउन सकिन्छ । यसमा साधारण ज्यामितीय आकार हुन्छ । त्यसमा विभिन्न देवीदेवताको आकृति बनाइन्छ । रंगोलीका लागि सिन्दूर वा अन्य थुप्रै किसिमको रंग प्रयोग गर्न सकिन्छ । सुख्खा रंगहरुको प्रयोगबाट मात्रै पनि रंगोली बनाउन सकिन्छ ।
रंगोली बनाउनुभन्दा अघिल्लो रात नै चामललाई भिन्नाभिन्नै रंगमा भिजाउने र सो रंगीन चामलले रंगोली बनाउन सकिन्छ । चामल वा मैदाको पीठोमा थरीथरीका रंग मिसाएर पनि रंगोली तयार गर्न सकिन्छ । रंगोलीलाई सयपत्री फूलले सजाउन सकिन्छ । त्यसको बीचमा वा कुनामा दियो बाल्न सकिन्छ ।
परम्परागत रंगोली
परम्परागत रंगोली चामलको पीठो र सेतो चकको पाउडरबाट बन्छ । रंग छैन भने यसरी रंगोली बनाउन सकिन्छ । यो डिजाइन लाइन र डट्सद्वारा बनाइन्छ । यो एकदम सजिलो छ ।
अमूर्त रंगोली
यसमा चम्किलो रंगबाट अनौठो डिजाइन तयार गरिन्छ । एउठा ठूलो फूल र त्यसको वरिपरि चम्किलो रंगले जोकोहीलाई आकर्षित गर्छ ।

ईश्वरको रंगोली
यसमा देवीदेवताको तस्वीर उतार्न सक्नुहुन्छ । त्यसो त भगवान गणेशको चित्रको रंगोली बढी बनाइन्छ, तर तपाईं आफ्नो इच्छाअनुसार जुनसुकै देवीदेवताको आकृति पनि बनाउन सक्नुहुन्छ ।
फूलबाट निर्मित रंगोली
फूलबाट पनि रंगोली बनाउन सकिन्छ । यसबेला सयपत्री फूल प्रशस्त पाइने भएकाले सयपत्री, मखमली आदि फूलबाट आकर्षक रंगोली बनाउन सकिन्छ ।
ज्यामितीय रंगोली
यो डिजाइन निकै आकर्षक हुन्छ । यसमा रेखा तथा ज्यामितीय डिजाइनबाट रंगोली बनाइन्छ । यसमा तपाईं दियोको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

रंगीन चामलबाट रंगोली
चामललाई रंगमा मिलाएर तपाईं यस्तो रंगोली बनाउन सक्नुहुन्छ । चामललाई अघिल्लो दिन नै रंगमा भिजाएर अर्को दिन सुख्खा भएपछि रंगोली बनाउन सकिन्छ ।
घर अफिसमा उपलब्ध स्थानका आधारमा रंगोलीको डिजाइन गर्न सकिन्छ । रंगोलीका लागि विभिन्न किसिमको रंग, फूल, दियो आदि प्रयोग गरिन्छ ।
रातो, पहेंलो, हरियो आदि छुट्टाछुट्टै रंगको चामलसँग मिश्रण गरी आफूले चाहेको डिजाइन तयार गर्न सकिन्छ । आटाको पीठोमा पनि रंग मिश्रण गर्न सकिन्छ ।
सुरुमा चक वा पीठोले स्वस्तिक चिन्ह, गणेश, शंख आदिको आकृति वनाएर त्यसमाथि उपयुक्त रंग भर्दै जानुपर्छ । मध्य भाग र चारैतर्फको किनारमा दियो राखेर रंगोलीलाई थप आकर्षक बनाउन सकिन्छ ।

लक्ष्मी पूजाको विशेषता
लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ ।
वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । लक्ष्मी धनकी देवीलाई भनिन्छ ।
झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाईबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो, तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक अन्तर्गत लक्ष्मी पूजाको दिन घर वरीपरी सरसफाई गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी घर आँगनमा गाईको हरियो गोवर तथा रातोमाटोले लिपेर लक्ष्मी पूजा गरेमा लक्ष्मीजीले घरमा सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

यसै विश्वासका कारण लक्ष्मी पूजाको दिन घर–घरमा दीप मालिकासहित दीपावली गरिन्छ । यस मानवीय जीवनमा सबै प्रकारको सुख मिलोस्, घरमा लक्ष्मी प्रवेश गरुन् भन्ने चाहनाले भक्ति पूर्वक आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरिन्छ र यसै पाइलाबाट लक्ष्मी घरभित्र प्रवेश गर्छिन् र स्थिर रहन्छिन् भन्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति: कार्तिक १५ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend