धरानः साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नवस्करण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. विक्रमप्रसाद श्रेष्ठलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको छ ।
कार्तिक १४ गते आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र पुरस्कार कोषका संस्थापक प्रा.डा. श्रेष्ठले नवीकरण गरिएको सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता नवीकरणपश्चात् कार्यक्रमका प्रमुख अतिथि खापुङले पुरस्कार कोषका संस्थापक डा. श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान–पत्रद्वारा सम्मान गरे ।
कार्यक्रममा कोषका संस्थापक श्रेष्ठले “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” बाट पुरस्कृत हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई चेक हस्तान्तरण समेत गरे ।
“साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” सुनसरीको धरान निवासी स्वर्गीय साधना देवी श्रेष्ठको नामबाट उनको छोरा डा. विक्रमबीच श्रेष्ठ र तत्कालीन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरबीच २०७१ सालको प्रहरी दिवसबाट पुरस्कार प्रदान गर्ने र प्रत्येक ५–५ वर्षमा दुवैपक्षबीच पुनः सम्झौता नवीकरण गर्ने सहमतिअनुसार “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” को मिति २०८१ साल कार्तिक १४ गते सम्झौता नविकरण भएको हो ।
पुरस्कार कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरुबाट आफ्नो कार्यक्षेत्रमा देखाएको बहादुरिता, जोखिमपूर्ण कार्यमा सफलता तथा अपराध अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्नेमध्येबाट छनौट गरी प्रदान गरिने गरेको छ ।
