Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेसको उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्याँदर र भुजेली पर्वको अवसरमा शुभकामना आदान–प्रदान

हाम्रो कोशी आवाज
मंसिर ३० २०८१, आइतबार
धरानमा कांग्रेसको उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्याँदर र भुजेली पर्वको अवसरमा शुभकामना आदान–प्रदान

धरानः मंसिरे पुर्णेमा पर्ने उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्यांदर र भुजेली पर्व तथा धान्य पूर्णे र गोठ पूजाको अवसरमा कांग्रेसले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा चार किरात, नेवार, भुजेल, खसक्षेत्री तथा ब्राम्हण समुदायले परम्परागत रुपमा मान्दै आएको पर्वहरुका अवसरमा कार्यक्रम गरेको हो । मंसिरे पूर्णेको दिन राई जातिले उधौली साकेला, लिम्वु जातिले चासोक तङ्नाम, नेवार जातिले यमोरी पून्ही, याक्खा जातिले चासुवा, सुनुवार जातिले फोल ष्यांदर र भुजेल जातिले भुजेली पर्वको रुपमा मनाउने गरेका छन् । त्यसैगरी मंसिरे पूर्णे कै दिन ब्राम्हण समुदायले धान्य पूर्णे र खसक्षेत्रीय समुदायले गोठ पूजाको रुपमा मनाउने गरेका छन् ।
सभापति तामाङले बहुजाति, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएकाले सबै नेपाली जाति, भाषी र धर्मवलम्वीहरुको परम्परातग एवम् मौलिक पर्वहरुलाई मनाउनु पर्छ भन्ने सन्देश दिन गत वर्षदेखि विभिन्न आदिवासी जनजाति, खसक्षेत्री, ब्राम्हण, अल्पसंखयक र धार्मिक समुदायहरुको चाडपर्वहरुको अवसरमा शुभकामना आदान–प्रदान राखेर सांस्कृतिक तथा धार्मिक र जातिय समानता कायम गराउन प्रयत्न गरेका बताए । उनले आफुहरुको कार्यक्रमले समाजमा जातिय तथा धार्मिक र सांस्कृतिक सद्भाव र सहिष्णुता वृद्धि भएको र सामाजिक एकता मजवुद भएको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईले राजनीतिक दलका हैषियतले गत वर्षदेखि नेपाली कांग्रेसले आदिवासी जनजातिका मौलिक पर्वहरुका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम राखेर जातिय तथा सांस्कृतिक विभेद अन्त्यका लागि महत्वपूर्ण कार्य गरेको बताए । उनले कांग्रेसको यो कार्यक्रमले आदिवासी जनजाति समुदायको पहिचानलाई संस्थागत गर्नमा मद्दत पुग्ने बताउंदै संविधानले प्रतिनिधित्वको व्यवस्था गरेतापनि अझै पहुंच प्राप्त हुन नसकेको जिकिर गरे ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् सांसद मिना सुब्बाले जातिय र धार्मिक एकता कायम हुनुपर्नेमा जोड दिंदै कांग्रेस क्षेत्रीय समितिले उदाहरण्ीय कार्यक्रम गरेको बताईन ।
कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले कार्यक्रमको उच्च प्रशंसा गर्दै नेपाली कांग्रेस सबैको पहिचान र सह अस्तित्वका लागि प्रतिवद्ध रहेको बताए । उनले प्रदेश सरकारले पहिचानका आन्दोलनरत पक्षसंग वार्ता र संवादको माध्यमवाट न्यायोचित रुपमा मागको संवोधन गर्न वार्ता समिति बनाएको र कांगे्रसको कोशी प्रदेश कार्यसमिति तथा जिल्ला सभापतिहरुले नामकरणका सम्बन्धमा पूर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराएको बताए ।
विभिन्न जातिय संस्थाका अतिथि वक्ताहरुले आ–आप्mनो पर्व, संस्कार, परम्परा, सांस्कृतिक मूल्य मान्यताका बारेमा प्रकाश पार्दै अझैपनि सांस्कृतिक तथा धार्मिक विभेद कायम रहको भन्दै अन्त्यका लागि नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले गम्भिरताका साथ विशेष पहल गर्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले कांग्रेसले गरेको यो कार्यक्रम पनि एक पहल भएको भन्द्र धन्यवाद र प्रशंसा समेत गरेका थिए ।
कार्यक्रममा ब्राम्हण समाजका केन्द्रीय उपाध्यक्ष वासु बराल, किरात याक्थुङ चुम्लुङ सुनसरी उपाध्यक्ष स्वर्णिम हाङ फोम्वो, सुनुवार सेवा समाज धरानका अध्यक्ष गोपाल सुनुवार, किरात राई यायोक्खा धरानका अध्यक्ष लिला राई, किरात याक्खा छुम्मा धरानका अध्यक्ष हेन्सेन याक्खा, नेवा देय दवू धरानका अध्यक्ष मनोहर शाक्य लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोशी प्रदेश सांसद ममता तामाङ, नेपाली कांग्रेसका कोशी प्रदेश सदस्यद्धय अन्जना राई र गणेश परियार, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, जिल्ला सदस्य अनुपमा सुनुवार, किरात राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, सुनुवार सेवा समाज सुनसरी अध्यक्ष तार्जन सुनुवार, नेपाल खस समाज प्रतिष्ठान धरानका अध्यक्ष व्रिजेश थापा लगायतको उपस्थिति रहेको थियो । साकेला सिलीमा सामुहिक सांस्कृतिक नृत्य समेत भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए ।

प्रकाशित मिति: मंसिर ३० २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend