Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फाइनलअघि वरीयतामा माथि रहेको म्यानमारलाई रोकेपछि नेपाल महिला फुटबलमा आत्मविश्वास, अब उपाधिका लागि बुधबार भिड्ने

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०८१, आइतबार
फाइनलअघि वरीयतामा माथि रहेको म्यानमारलाई रोकेपछि नेपाल महिला फुटबलमा आत्मविश्वास, अब उपाधिका लागि बुधबार भिड्ने

धरानः चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार बीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २–२ बराबरीमा नै सकिएको छ । यो नतिजापछि दुवै टिम अपराजित हुँदै समान ७-७ अंकमा रहेका छन् । गोल अन्तरले म्यानमार नेपालभन्दा अगाडि रहेको छ ।
यो बराबरीसँगै म्यामार लिग विजेता र नेपाल उपविजेता बन्दै बुधबार फाइनल खेल्ने छन् । खेलको छैटौं मिनेटमा म्याट नोई खिनको फ्रि किक गोलमार्फत म्यानमारले अग्रता बनाएको थियो । म्यानमारको त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । सावित्रा भण्डारीको क्रसमा सविता रानमगरले वान टचमै पोस्टको दिशा दिइन् । मे एचटेट लुले १६औं मिनेटमा म्यानमारलाई २–१ को अग्रता दिलाइन् । उनले नेपाली रक्षक गीता रानाले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन् ।
सावित्र भण्डारीले ४०औं मिनेटमा प्रिती राईको पासमा गोलरक्षकलाई वान वाई वानमा विट गर्दै नेपाललाई खेलमा फर्काइन् । पहिलो हाफ २–२ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल भने थपिएन । दुवै टिमले केही मौका बनाए पनि अंकमा परिणत भने गर्न सकेनन् ।
७३ मिनेटमा रश्मीको हेडर गोलकिपर म्योले कलेक्ट गरिन् । थप गरिएको पहिलो मिनेटमा म्यानमारले मौका बनाउन खोज्दा खेलाडी अफ साइड रहे । म्यानमारविरुद्ध नेपालको यो पाँचौ खेल हो र यसमा तीन हार तथा दुई बराबरी भएका छन् । अब बुधबार हुने फाइनलमा नेपाल र म्यानमार भिड्ने छन् । आइतबारको पहिलो खेलमा लेबनानले किर्गिस्तानलाई २–० ले हराएको थियो ।
आजको खेलको उत्कृष्ट खेलाडी साम्बा भइन्। उनले २५ हजार रुपैयाँ प्राप्त गरिन् । फाइनलअघि आफूभन्दा ४८ स्थान माथि वरीयताको म्यानमारलाई बराबरीमा रोकेपछि नेपालको आत्मविश्वास बढेको छ।

प्रकाशित मिति: फाल्गुन ११ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend