Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा धरानकै डाक्टर उपकुलपति बन्लान् ?

हाम्रो कोशी आवाज
साउन २१ २०८२, बुधबार
धरानको बीपी प्रतिष्ठानमा धरानकै डाक्टर उपकुलपति बन्लान् ?

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उपकुलपतिको लागि सर्टलिष्टमा ६ जनाको नाम परेको छ ।
प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन परेकामध्ये स्वास्थ्य मन्त्रालयले सर्टलिष्ट प्रकाशन गर्दा यसपटक प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. कृष्णकुमार राई, प्रा.डा. प्रल्हाद कार्की, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. श्रीजना श्रेष्ठ, प्रा.डा. रामेशराज कोइराला परेका हुन् ।
स्वास्थ्य मन्त्रालयले गत असार ४ गते दरखास्तका लागि आह्वान गरेको थियो । जसमा प्रतिष्ठानको उपकुलपतिको लागि अन्यले पनि नाम दिएका थिए । कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि ६ जना सर्टलिष्टमा परेको जनाइएको छ । सर्टलिष्टमा परेका उनीहरुको अन्तर्वार्ता तथा प्रस्तुतिकरण साउन २३ गते २ बजेको समय तोकिएको छ ।
यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सर्च कमिटी गठन भइसकेको छ । अन्तर्वार्ता र प्रस्तुतिकरणपछि सर्च कमिटीले उपकुलपति नियुक्तिका लागि तीन तीन जनको नाम कुलपति (प्रधानमन्त्री) समक्ष पेश गर्ने भएको छ ।
अहिले बीपी प्रतिष्ठानमा को उपकुलपति बनेर आउँछ भन्ने चर्चा चुलिएको छ । उपकुलपति छनौट पेचिलो बन्दै गइरहेको सन्दर्भमा सर्ट लिष्टमा परेकामध्ये प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. प्रल्हाद कार्की र प्रा.डा. पशुपति चौधरी धरानकै बासिन्दा हुन् । उनीहरुले आफूहरु स्थानीय भएको र बीपी प्रतिष्ठानमा भिजेको भएकोल ेप्रतिष्ठान सुधारका हिसाबले लाग्ने बताएका छन् । ‘बीपीमा दक्ष प्रशासकको खाँचो छ’, उनी भन्छन्, ‘बीपीलाई सुधार गर्ने हिसाबले निवेदन दिएको हुँ ।’ प्रा.डा. श्रेष्ठ भन्छन् ।
उनीहरुले प्रतिष्ठानलाई राजनीतिक पहुँचको आधारमा दुरुपयोग नगर्ने हो भने आफूहरु नै योग्य रहेको समेत बताउँदै आएका छन् । धरानबासीले पनि पहिलादेखि नै उपकुलपति पदमा राजनीतिकरण नगरी क्षमता भएका व्यक्ति र धरानबासीलाई नै उपकुलपति बनाउनुपर्ने बताउँदै आएका छन् ।
यसअघि प्रतिष्ठानमा उपकुलपति नियुक्ति राजनीतिक भागबण्डामा हुने गर्दथ्यो । योग्य प्रा.डा.हरु धरानकै हुँदाहुँदै पनि राजनीतिक भागबन्डाले गर्दा प्रतिष्ठान धरासायी बन्दै गएको आवाज धरानबासीले उठाउँदै आएका छन् ।
‘विशेषतः चोर बाटो हुँदै अझ भन्ने हो भने पैसाको बिटोले प्रतिष्ठानमा उपकुलपति नियुक्ति हुँदा बीपी प्रतिष्ठान खस्किँदै गएको हो भन्छु’, रिटायर्ड प्रा.डा. राजेन्द्र शर्मा भन्छन्, ‘त्यसैले अब योग्य र स्वच्छ छवि भएका धरानबासी उपकुलपति भएको हेर्न चाहन्छौं ।’
बीपी प्रतिष्ठान व्यवस्थापकीय हिसाबले लथालिङ्गजस्तै बनेको र यसलाई सुधार ल्याउन सक्ने ल्याकत राख्ने उपकुलपति राजनीतिक पहुँचको दुरुपयोग नगरीकनै आउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: साउन २१ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend