Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बसन्त बस्नेतको ‘सिमसारा’ लाई दुईलाखको पुरस्कार दिने घोषणा

हाम्रो कोशी आवाज
असोज २७ २०८२, सोमबार
धरानमा बसन्त बस्नेतको ‘सिमसारा’ लाई दुईलाखको पुरस्कार दिने घोषणा

धरान: धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार इलाम निवासी बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गर्ने निर्णय गरेको छ । निर्णायक समितिले सिफारिस गरेपछि पुस्तकालय संचालक समितिको सोमबार प्रेस विज्ञप्ती जारी गर्दै बस्नेतद्धारा लिखित ‘सिमसारा’ उपन्यसालाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय सार्वजनिक गरेको हो ।
पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङकाअनुसार विमल गुरुङ कृति पुरस्कारकालागि आव्हान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए । प्राप्त भएका ती कृतिहरुमध्येबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए ।
उक्त पुरस्कार आगामी कात्तिक १९ गते आयोजना हुने ३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा नगद राशी दुइलाख रुपैया, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने छ ।
पुस्तकालयद्धारा जारी विज्ञप्तीअनुसार ‘सिमसारा’उपन्यास पूर्वी नेपाल इलाम चारखोलको कथा हो । जसमा एक परिवारको विघटनको कथा बुनिएको छ । घरको मुल खाबो अर्थात घरमुलीले आफ्नी पत्निप्रति आकर्षण नदेखाएपछि पत्निमा रुमल्लिएको जीवनको अत्यासलाग्दो यात्रा, बाबु–आमाबिचको बेमेलले उनीहरूको सन्तानलाई बारम्बार लागिरहने बाछिटा उपन्यासका मूल विषय हुन् । उपन्यासमा मूलतः पारिवारिक मनोविज्ञान, चारखोलको चिहानघारी नजिक रहेको घरको परिवेश र यस स्थानका भौतिक–अभौतिक अवस्थाको चित्रण प्रमुख पक्ष हुन् । ‘सिमसारा’ पछिल्लो समयको सामाजिक यथार्थवादी उपन्यास भएकाले पुरस्कारको हकदार बनाईको विज्ञप्तीमा उल्लेख छ ।
यसअघि पुस्तकालयले बेलायतका नरेश काङमाङको कविता संग्रह ‘तेप्लायु’ भारत दार्जिलिङका विजय कैलाशी राईको आख्यान ‘मित्याङ्सा’ गोरखाका चन्द्र गुरुङको कविता संग्रह ‘जव एउटा मान्छे हराउछ’ र इलामका प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शव्दथुम’ लाई सो पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति: असोज २७ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend