धरानः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन, पूर्वाधार विकास र देशको ऋणभारका विषयमा संसद्मा उठेका प्रश्नहरूको जवाफ दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको उत्तर दिँदै उनले ७ खर्ब ऋण लिने योजना भए पनि देशको ऋण र कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ठूलो असर नपर्ने दाबी गरे ।
अर्थमन्त्री वाग्लेले अहिले नेपालको ऋण र जीडीपीको अनुपात ३ प्रतिशत रहेको र सम्पूर्ण विदेशी ऋण परिचालन हुँदा पनि यो ४ प्रतिशतभन्दा माथि नजाने बताए ।
उनले झन्डै ३० खर्बको दायित्व र १९ खर्ब ७५ अर्बको ऋणको भारी बोकेर बजेट निर्माण सुरु गरेको उल्लेख गरे । आगामी वर्ष १३ खर्ब राजस्व ननाघ्ने अवस्थामा पनि सुशासन, डिजिटलाइजेसन र करको दायरा विस्तार गरेर १४ खर्ब ५ अर्बदेखि १७ खर्ब ८० अर्बसम्म राजस्व उठाउने लक्ष्य राखिएको उनले बताए ।
सरकारले ५ वर्षमा १२ लाख मर्यादित रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको र यो तथ्यांक हचुवाको भरमा नभई श्रम शक्ति सर्वेक्षण र आर्थिक वृद्धिको विश्लेषणका आधारमा तय गरिएको उनले दाबी गरे ।
यस्तै, सिंहदरबार पुनर्निर्माणका लागि अर्बौं रकम विनियोजन गरिएको र यसलाई प्रशासनिक धरोहरको रूपमा बनाइने उनले प्रतिबद्धता जनाए ।
तातोपानी नाकाको विकासमा चिनियाँ पक्षबाट केही ढिलाइ भएको र यसलाई संवादमार्फत अगाडि बढाइने उनले बताए । वातावरण शुल्कबापत उठाइएको १ रुपैयाँ ५० पैसा कहाँ खर्च हुन्छ भन्ने प्रश्नमा उनले सबै रकम राज्यको संचित कोषमा जाने र त्यहाँबाट आवश्यकताअनुसार बजेट बाँडफाँट हुने बताए ।
अर्थमन्त्रीले बजेट वक्तव्यमा बोलिएका कुराहरूको अर्धकानुनी हैसियत हुने भएकाले विनियोजनमा समस्या नहुने बताए । उनले विकास निर्माणका लागि आवश्यक विश्फो विष्फोटक पदार्थको प्रयोगमा देखिएको झन्झटलाई नीतिगत रूपमा सम्बोधन गर्न सरकार खुला रहेको समेत उल्लेख गरे ।
उनले अवण्डामा राखिएको बजेटबारे स्पष्ट पार्दै आकस्मिक आवश्यकता र नयाँ मन्त्रालयहरूको डिटेलिङ बाँकी भएकाले यस्तो गरिएको र यसमा पारदर्शिता कायम गरिने बताए ।
यसैबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
त्यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकका दुईदेखि ११ सम्मका दफालाई निर्माणार्थ प्रस्तुत गरेका थिए । सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो ।
अर्थमन्त्री डा वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका थिए । विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि यही असार १ र २ गते सभामा छलफल भएको थियो । सो छलफलमा उठेका प्रश्नको जवाफ बुधवार र आज सम्बन्धित मन्त्रीले दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार ५ गते शुक्रवार बिहान ११ः०० बजे बस्नेछ ।