धरानः धरानमा लुटपाटमा संलग्नताको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१६ का २२ वर्षीय विवेक राई रहेको प्रहरीले जनाएको छ ।
धरान–१४ बस्ने २३ वर्षीय देव बिसुङखे, ३० वर्षीय सन्तोष भुर्तेलको मोबाइललगायत पैसासमेत लुटपाट भएको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईले जानकारी दिए । त्यही सूचनाका आधारमा प्रहरीले भाग्दै गर्दा एकजना पक्राउ पर्न सफल भएको इन्स्पेक्टर राई बताउँछन् ।
धरान–१४ विजयपुर जाने सडकको सेल्फीडाँडामा लुटपाट भएको सूचना पाएको प्रहरीले उनलाई पक्राउ गरेको हो । केही समूहले करिब ७० देखि ८० हजार रुपैयाँ, दुईवटा आइफोन, दुईवटा सामसुङ मोबाइल लुटपाट गरेर भागेका थिए । भाग्दै गर्दा धरान–१३ बाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘लुटपाटपछि सडकको किनारैकिनार भाग्दै थिए’, प्रहरी स्रोत भन्छ ‘भाग्दैगर्दा हतियारसहित उनी पक्राउ परे । ‘तरबारजस्तो चक्कु देखाएर आइफोन मोबाइल, सामसुङ मोबाइल र पैसा लुटिएको पाइएको छ’, प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धानकै क्रममा छौं ।’
पीडितका अनुसार घाँटीमा तरबार राखेपछि भएभरका सामान दिन तयार भयौं । घटना बिहीबार रातिको हो । धरान–१४ को हात्तीसार क्याम्पसनजिकै रहेको सेल्फी रोडमा क्याफे बन्द गरेर घर फर्किदै गरेका दुईजना युवालाई तरबारजस्तो चक्कु देखाएर लुटपाट भएको प्रहरीले जनाएको छ । तरबारजस्तो चक्कु देखाउँदै धम्क्याउन थालेपछि ती दुई युवाले भएभरको नगद, मोबाइल दिएका थिए ।
घटनामा अन्यको पनि संलग्नताको आशंका प्रहरीले गरेको छ । उनीहरूको पनि खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले बताएका छन् ।
यसअघिको समाचार फरक पर्न गएकोले क्षमाप्रार्थीसहित सच्याइएको छ ।