धरानः गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी प्रतिष्ठानकै हातामा सञ्चालित निर्वाणा कन्ट्री क्लब हटाउन निर्देशन दिएका छन् ।
प्रतिष्ठान अतिक्रमणमा परेको भन्दै उनले सम्झौता तोडेर अघि बढ्न निर्देशन दिएका छन् । आइतबार स्वास्थ्यमन्त्री निशा मेहतासँगै अस्पताल आइपुगेका गृहमन्त्री गुरुङले तीनघण्टा बढीको छलफलमा यो विषय पनि उठाएका थिए । त्यसलगत्तै उनले अतिक्रमण रहेको संरचना हटाउन निर्देशन दिएका हुन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले गृहमन्त्रीको चासोपछि सुरक्षा निकायसहितको टोलीले निरीक्षणका लागि त्यहाँ पुगेको बताउँदै बन्द अवस्थामा रहेको क्लबको बक्यौता रहेको बताउँदै उनले कानुनी कारबाहीसहित अतिक्रमित संरचना हटाउने विषयमा छलफल गरी निर्णय पुग्ने बताए ।
प्रतिष्ठान परिसरमा रहेको १० वटा भवन निर्वाणा कन्ट्री क्लबले ५० वर्षका लागि ठेक्का लिएको थियो । अस्पताल परिसरमा रहेको गल्फ क्लब पनि सोही कम्पनीले २० वर्षका लागि ठेक्का लिएको थियो । तर, कोरोना महामारीपछि क्लब बन्द गरेर सञ्चाल शशीराम भण्डारी सम्पर्क बाहिर छन् । निर्वाणाले छाडेपछि गल्फ क्लबको व्यवस्थापन भने धरान गल्फ क्लबले गरिरहेको छ । ब्रिटिसका लागि निर्माण गरिएको १० वटा भवन र गल्फ क्लब प्रतिष्ठान भन्दा पुरानो हो ।
उनको निर्देशनपछि सुरक्षा निकाय र प्रतिष्ठान व्यवस्थापन समितिले निर्वाणा कन्ट्रीले ठेक्का लिएको क्षेत्र निरीक्षण गरेको छ ।
प्रतिष्ठानका निमित्त उपकुलपति इन्द्र लिम्बूले अनुसार निर्वाणा कन्ट्री ठेक्का लिएको होटल र गल्फ क्लब बक्यौता नबुझाएको बताए । गृहमन्त्रीको निर्देशनपछि कसरी अघि बढ्ने भन्ने विषयमा गृहकार्य सुरु भएको उनले बताए ।