Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘झ्याप्प-झ्याप्प’ बिजुली बत्ती जाने समस्या रोक्न शुरु

हाम्रो कोशी आवाज
असार २४ २०८३, बुधबार
‘झ्याप्प-झ्याप्प’ बिजुली बत्ती जाने समस्या रोक्न शुरु

धरानः
वर्षायामसँगै देशका विभिन्न क्षेत्रमा पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या बढ्न थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ।
मन्त्रालयले मनसुनका कारण विद्युत् आपूर्तिमा देखिने अवरोधलाई उच्च प्राथमिकतामा राख्दै सेवा नियमित, भरपर्दो र प्रभावकारी बनाउन अभियान सञ्चालनमा ल्याएको जनाएको छ। वर्षायाममा हावाहुरी, चट्याङ, रुख ढल्ने तथा प्राविधिक कारणले विद्युत् आपूर्ति प्रभावित हुने क्रम बढ्ने भएकाले त्यसको तत्काल व्यवस्थापनमा जोड दिइएको मन्त्रालयको भनाइ छ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार विद्युत् आपूर्तिसम्बन्धी गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ। सम्भावित समस्या देखिनेबित्तिकै मर्मत तथा पुनः आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ।
मन्त्रालयले मनसुनका कारण उत्पन्न हुन सक्ने जोखिमलाई समयमै पहिचान गर्दै विद्युत् सेवा अवरुद्ध हुने अवस्थालाई न्यून गर्न प्राधिकरणसँग समन्वय गरी आवश्यक तयारी अघि बढाएको जनाएको छ। वितरण प्रणालीमा देखिने समस्या छिटो समाधान गरेर उपभोक्तालाई नियमित सेवा उपलब्ध गराउने लक्ष्य अभियानको रहेको मन्त्रालयको भनाइ छ।
विद्युत् आपूर्तिमा कुनै समस्या, गुनासो वा उजुरी भए उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गरी जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ। मन्त्रालयका अनुसार प्राप्त उजुरीलाई तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: असार २४ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend