धरानः प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा करिब २० मिनेटमात्रै बसेर बाहिरिए । मंगलबार दिउँसो १ः३७ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगै बैठक कक्षमा प्रवेश गरेका थिए भने १ः५५ बजे सदनबाट बाहिरिए ।
गत जेठ १७ गतेको प्रश्नोत्तर कार्यक्रमपछि पहिलो पटक संसदमा उपस्थित भएका प्रधानमन्त्री शाहको उपस्थितिकै क्रममा प्रतिपक्षी दलका सांसदहरूले सरकारविरुद्ध चर्को आलोचना गरेका थिए । विशेषगरी विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा राजनीतिक नेतृत्वका निवासअगाडि गाडी पार्क गरेर त्रास सिर्जना गरिएको घटनालाई लिएर प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीकै उपस्थितिमा सरकारको आलोचना गरेका थिए ।
प्रधानमन्त्री शाह संसदमा प्रवेश गर्नुअघि सभापति लामिछानेसँग केहीबेर छलफल गरे । त्यसपछि दुवै जना एकसाथ बैठक कक्षमा प्रवेश गरेका हुन् ।
यसक्रममा राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले धारणा राखिरहेको बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने बैठक कक्षमा प्रवेश गरे ।
उक्त घटनाप्रति आपत्ति जनाउँदै नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री शाह र सभापति लामिछानेले संसदीय मर्यादा तथा नियम उल्लङ्घन गरेको दाबी गरे ।
उनले बोलिरहनुभएका सांसद र सभामुखको आसनबीचबाट हिँडेर बैठक कक्षमा प्रवेश गरिएको भन्दै त्यसलाई संसदीय अभ्यासविपरीत भएको उल्लेख गरे । साथै, यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीको छोटो उपस्थितिसँगै संसदमा उठेका नियमापत्ति र प्रतिपक्षको आलोचनाले सदनको वातावरण थप तातेको छ। सभामुखले यस विषयमा के रुलिङ गर्नुहुन्छ भन्नेमा सांसदहरूको चासो केन्द्रित रहेको छ।