Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जेनतेन धानिँदै लुतो फाल्ने संस्कृति

हाम्रो कोशी आवाज
साउन १ २०८३, शुक्रबार
जेनतेन धानिँदै लुतो फाल्ने संस्कृति

धरानः
नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घरघरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै चिच्याउँदै’ ८१ वर्षीय तुलसीराम विष्ट साउने सङ्क्रान्तिका दिन लुतो फालेको सम्झिन्छन् ।
यो विस्तारै हराउँदै तथा नयाँ पुस्ताले संस्कृति भुल्दै गएको प्रति गुनासो गर्छन् । ‘२० वर्ष भयो लुतो फाल्न छाडेको पहिला कति रमाइलो गर्दै फालिन्थ्यो अहिले हराउँदै गयो, उनले भने, “साउन महिनाको १ गते सङ्क्रान्तिका दिन यसरी चारै दिशातिर लुतो लैजा, पिलो लैजा भन्दै धँयरीको दाउरा जलाएर फाल्ने चलन छ ।”
ज्योतिषी आदित्य राज भन्छन्– बढ्दो आधुनिकीकरणले गर्दा हाम्रो समाजमा यस्ता मौलिक रीतिरिवाजको लोप हुँदै जान लागेको हो । यो पर्वमा गरिने कार्यको धेरै महत्त्व रहेको प्रस्ट पार्दै उनले शरीरमा वर्षाका बेला अनेकौँ कीराले टोकेर शरीर सुनिने, घाउ खटिरा आउने हुँदा शरीर स्वास्थ्यका लागि कन्डारक पूजा गर्ने र लुतो फाल्ने चलन चलेको बताए ।
ज्योतिष शास्त्रानुसार पनि सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट सङ्क्रान्ति’ पनि भनिएको हो । ज्योतिषी राजको अनुसार सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) तथा मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
यसै दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने पनि उनले जानकारी दिए ।कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन रहेको पनि ज्योतिषी राजले बताए ।
परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कन्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिक स्थलमा सामाजिक रूपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ ।

प्रकाशित मिति: साउन १ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend