धरानः अब बजारबाट सामान वा सेवा खरिद गर्दा बिल लिने बानीले उपभोक्तालाई लाखौं रुपैयाँ जिताउने अवसर पनि दिने भएको छ । आन्तरिक राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले बिल लिने उपभोक्तालाई नगद उपहार दिने नयाँ योजना सार्वजनिक गरेको हो ।
सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउने र उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले नयाँ ‘लखपति योजना’ कार्यान्वयनमा ल्याउने भएको हो ।
योजनाअनुसार अब सक्कली बिल लिने करदातामध्ये हरेक दिन एक जना नेपाली लखपति बन्नेछन् भने महिनामा दुईजनाले बम्पर १०–१० लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
सरकारले सार्वजनिक गरेको कार्यविधिअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढीको खरिद गरी सक्कली बिल लिने उपभोक्ता यो योजनामा सहभागी हुन सक्नेछन्। नगद वा विद्युतीय माध्यमबाट गरिएको भुक्तानी दुवै मान्य हुनेछ, तर कारोबारको सक्कली बिल अनिवार्य हुनेछ ।
योजनामा सहभागी हुन उपभोक्ताले प्राप्त गरेको बिल नम्बर नै लक्की ड्रको आधार बन्नेछ। सरकारले प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी पाक्षिक रूपमा विजेताको घोषणा गर्ने जनाएको छ ।
सरकारको विश्वास छ कि यस योजनाले उपभोक्तामा सक्कली बिल लिने बानीको विकास गर्नुका साथै कर छलि नियन्त्रण, कारोबारको पारदर्शिता र राजस्व संकलनमा समेत सकारात्मक योगदान पुरयाउनेछ ।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको यस कार्यक्रमको विस्तृत कार्यान्वयन प्रक्रिया, सहभागिताका सर्त, विजेता छनोट विधि तथा पुरस्कार वितरणसम्बन्धी व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।