Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी घटनाः उच्चस्तरीय न्यायिक छानविनको माग

हाम्रो कोशी आवाज
साउन १५ २०८३, शुक्रबार
सुनसरी घटनाः उच्चस्तरीय न्यायिक छानविनको माग

धरानः नेपाली कांग्रेसले सुनसरीको कप्तानगन्जको घटनालाई सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेको ठहर गर्दै आपत्ति जनाएको छ । साथै, उच्चस्तरीय न्यायिक छानबिनको माग राखेको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्जमा भएको घटना र त्यसपछि मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिबारे छलफल गर्न शुक्रबार कांग्रेसको आकस्मिक बैठक बसेको थियो । सोही बैठकले कप्तानगन्ज घटनामा राज्यले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको हो ।
“नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो र यस्तो परिस्थिति किन सिर्जना भयो ?” कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन हुनुपर्छ भन्नेकुरामा नेपाली कांग्रेसको स्पष्ट अडान रहेको छ ।”
न्यायिक छानबिन समिति गठन, घाइते भएकाको निःशुल्क उपचार, समुचित व्यवस्थापन, तोडफोड र आगजनी भएका धनसम्पत्तिको क्षतिपूर्ति दिलाउने कुरामा कांग्रेसले सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ ।
यस्तै, पार्टीको कुनै पनि तहमा जिम्मेवारीमा रहेको व्यक्ति हिंसा, सामजिक सद्भाव र सहिष्णुता खल्बलाउने कार्यमा सहभागी भएमा कारबाही गर्ने भएको छ । कांग्रेसको सदस्यता लिएर यस्ता गतिविधि गरेमा पार्टीलाई अस्वीकार्य हुने र विधानबमोजिम कारबाही हुने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए ।
सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटना र त्यसपश्चात तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका बीच शुक्रबार कांग्रेसको आकस्मिक बैठक बसेको थियो ।
उक्त बैठकबाट कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई सामाजिक सद्भावका लागि विशेष अग्रसरता लिने निर्णय गरेको छ ।
“नेपाली कांग्रेसका लागि यस संकटपूर्ण र संवेदनशील घडीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता हो । पार्टीले जिम्मेवारपूर्वक यसको पहलकदमी लिनेछ,” विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले आफ्नो नेतृत्वमा रहेको मधेस प्रदेश सरकार र स्थानीय सरकार तथा जनप्रतिनिधिलाई नागरिकको सुरक्षा तथा सामाजिक सद्भाव, सहिष्णुता, घाइते परिवारलाई आवश्यक सहयोग पुर्‍याउन तथा सामाजिक सद्भाव अभियानका लागि विशेष अग्रसरता लिन निर्देशन समेत दिएको छ ।
यस्तै, पार्टीका हरेक तहका समितिले वडातहसम्म नै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग समेत संवाद गरी नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
आफ्ना संघीय सांसद, प्रदेशसभा सदस्य, नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य तथा तह गत कार्यसमितिलाई आ–आफ्नो जिल्ला गएर समुदायसँग संवाद गर्न, घाइतेसँग र परिवारसँग भेट्न, तथा सामाजिक सद्भावका लागि पहलकदमी लिन पनि कांग्रेसले निर्देशन दिएको छ ।
कुनै पनि तहका नेता कार्यकर्ताहरूलाई संवेदनशील विषयमा तत्काल प्रतिक्रियात्मक नभई सत्यतथ्य बुझ्न, मिथ्या सूचना, अफवाह वा उत्तेजनामा नलाग्न तथा हिंसा, उत्तेजना फैलाउने वा त्यस्ता कार्यलाई प्रोत्साहन हुने कुनै पनि कार्य नगर्ने र गर्न नदिन निर्देशन दिएको छ ।
बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित, पदाधिकारी, सदस्य, संसदीय दलका नेता, सांसदहरू, मधेस प्रदेश, सुनसरी, मोरङ जिल्लाका पार्टीका केन्द्र, प्रदेश, जिल्लाका नेताहरू उपस्थित थिए । मधेस प्रदेशका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख/उपप्रमुख, वडाध्यक्षहरू भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका थिए ।

प्रकाशित मिति: साउन १५ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend