Hamro Koshi Aawaj

मंगलबार, भाद्र २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैं-तिहारको आसपाससम्मै पानी पर्नसक्ने, जोखिम कायमै

हाम्रो कोशी आवाज
भाद्र १ २०८३, सोमबार
दशैं-तिहारको आसपाससम्मै पानी पर्नसक्ने, जोखिम कायमै

धरानः राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएका छन्।
सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा डा. उप्रेतीले नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपद्को जोखिम कायमै रहेको बताए।
नेपालमा मनसुन प्रवेशको औपचारिक मिति १३ जुन र पूर्ण रूपमा बाहिरिने औसत मिति २ अक्टोबर मानिन्छ। भदौ १ सम्म आइपुग्दा मनसुन अवधि करिब एक महिना १४ दिन बाँकी रहेको छ।
अब जोखिम व्यवस्थापनका लागि ‘काउन्टडाउन’मा जानुपर्ने अवस्था रहेको उप्रेतीले बताए। उनका अनुसार यसवर्ष मनसुनको वर्षा देशभर समान रूपमा भएको छैन।
मध्यपहाडी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मधेश क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांक उद्धृत गर्दै प्रमुख उप्रेतीले नेपालमा वार्षिक औसत वर्षा करिब एक हजार ४७० मिलिमिटर हुनेमा भदौ १ सम्म करिब ८२४ मिलिमिटर वर्षा भएको बताए।
यो कुल औसतको करिब ५५ प्रतिशत हो। तर वर्षाको समग्र परिमाणभन्दा यस वर्षको वितरण र प्रवृत्ति फरक देखिएको उनको भनाइ छ। पश्चिम नेपालमा आगामी तीन दिनमा भारी वर्षासम्म हुन सक्ने र तराई तथा मधेश क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना देखिएको उनले बताए।
‘मनसुन अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने हुन्छ,’ उनले भने, ‘यसपालिको जुन एलनिनोको इम्प्याक्ट छ, समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ, त्यो परिवर्तनले गर्दाखेरि जलवाष्पयुक्त वायु जसरी चाहिँ नेपालमा एकदमै ठूलो जलवाष्पयुक्त वायु आयो भनेपछि त्यसले स्थानीय वायुसँग पनि त्यही खालको अन्तरक्रिया गर्छ।’
‘पानी पनि गत वर्षको जस्तो औषतभन्दा बढी परेको अवस्था छ,’ उप्रेतीले भने, ‘मध्यपहाडी क्षेत्रमा कुनै एकदमै आइसोलेटेड ठाउँमा कुनै एउटा भनौँ न भूभागमा खण्डवृष्टि धेरै भएको र त्यसले गर्दाखेरि मध्यपहाडी क्षेत्रमा ठूलो हानीनोक्सानी गरेको अवस्था छ।’
उनले यस वर्षको असामान्य वर्षा प्रणालीलाई एल निनोको प्रभावसँग जोडेर हेर्न सकिने बताए। साथै हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल (आईओडी)’ को अवस्थाले पनि वर्षाको प्रवृत्तिमा प्रभाव पार्नसक्ने उनले जानकारी दिए।
हाल आईओडी तटस्थ अवस्थामा रहे पनि केही अन्तर्राष्ट्रिय मौसमी मोडलहरूले आगामी दिनमा यो सकारात्मक अवस्थामा जान सक्ने संकेत गरेको उनको भनाइ छ। आईओडी सकारात्मक भएमा दशैं–तिहारको आसपाससमेत वर्षा हुन सक्ने सम्भावना रहने उनले जानकारी दिए।

प्रकाशित मिति: भाद्र १ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend