Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

महँगिँदै गयो भान्सा, दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै

हाम्रो कोशी आवाज
भाद्र २५ २०८३, बिहिबार
महँगिँदै गयो भान्सा, दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै

धरानः भान्सामा प्रयोग हुने अति आवश्यक वस्तुको मूल्यमा भएको अत्यधिक मूल्यवृद्धिले आम नेपालीको दैनिक जनजीवन कष्टकर मात्रै होइन, बाँच्नै गाह्रो बनाएको छ ।
भान्सामा नभई नहुने अति आवश्यक खाद्यान्न चामल, दाल, तेल, चिनी, तरकारीदेखि खाना पकाउने ग्याससम्मको अत्यधिक मूल्यवृद्धिपश्चात् थपिएको महँगीको चरम मारले खासगरी निम्न वर्ग र मध्यम वर्गका नेपालीको ढाड नै सेकिएको छ ।
उपभोक्तावादी प्रेमलाल महर्जनले पछिल्लो चार महिनाको बजार तथ्यांक र हालै आएको विनाशकारी बाढीपछिको आपूर्ति अवरोधले गर्दा सर्वसाधारणको क्रयशक्तिमा अहिलेसम्मकै ठूलो प्रभाव पारेको जानकारी दिए । ‘नेपाली जनताले अहिलेजस्तो दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको सामना भूकम्प र कोभिडको समयमा पनि बेहोर्नु परेको थिएन,’ महर्जनले भने, ‘सरकार भनेको आपत-विपदको बेला सहयोग गर्ने हो । बजारमा सरकारको उपस्थिति नहुँदा आपत-विपद परेकै समयमा दैनिक उपभोग्य वस्तुको मूल्य सबैभन्दा माथि पुग्यो ।’
जेठ १ गतेको बजार भाउ र भदौ १५ गतेको मूल्यलाई तुलना गर्दा धेरैजसो अत्यावश्यक वस्तुमा १५ प्रतिशतभन्दा बढीको वृद्धि भइसकेको तथ्यांकले देखाउँछ ।
जेठ महिनाको सुरुवातमा बजार केही स्थिर देखिए पनि १५ दिन नबित्दै महँगीको संकेत देखा परिसकेको थियो ।
असार महिनामा खाद्यान्न र मसला दुवैतर्फ अत्यधिक मूल्यवृद्धि भएको संघको भनाइ छ । जेठ १५ सम्म प्रतिकिलो ९५ रुपैयाँमा पाइने स्टिम जिरा मसिनो चामलको मूल्य असार १ गते नै ५ प्रतिशतले बढेर १०० रुपैयाँ पुगेको थियो ।
त्यही अवधिमा मसलाजन्य वस्तुको मूल्यमा झन् अस्वाभाविक उछाल आएको थियो । जेठसम्म प्रतिकिलो ३५० रुपैयाँमा स्थिर रहेको धनियाँ पाउडर असार १ गते नै ५० रुपैयाँले बढेर ४०० रुपैयाँ पुग्यो भने ५०० रुपैयाँमा पाइने बेसार पाउडरको मूल्य पनि ५ प्रतिशतले बढेर ५२५ रुपैयाँ प्रतिकिलो कायम भएको थियो ।
साउन महिना लागेपछि बजारमा गेडागुडी र दालको मूल्यमा क्रमिक वृद्धि हुँदै साउन १५ सम्म आइपुग्दा चनाको दालमा दुई पटकसम्म मूल्यवृद्धि भएर १७० रुपैयाँ प्रतिकिलो कायम भएको थियो ।
भदौ १५ सम्म आइपुग्दा जिरा मसिनो चामलको मूल्य जेठको तुलनामा १५.७८ प्रतिशतले बढेर ११० रुपैयाँ र चिनीको मूल्य १४.२८ प्रतिशतले बढेर १२० रुपैयाँ पुगिसकेको थियो ।
अर्कोतर्फ तरकारीमा पनि प्रतिकिलो ६० देखि १ सय रुपैयाँसम्म मूल्यवृद्धि हुँदा आम उपभोक्ताको जनजीवन चौतर्फी रूपमा महँगीको मारमा परेको छ ।

प्रकाशित मिति: भाद्र २५ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend