Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोटेकोशी बाढीः सरकारी प्रतिवेदन सार्वजनिक, ५.२ म्याग्निच्युड भूकम्पको जस्तै प्रतिघण्टा ८८ किलोमिटरको तीब्र बेगको बाढी

हाम्रो कोशी आवाज
भाद्र २८ २०८३, आइतबार
भोटेकोशी बाढीः सरकारी प्रतिवेदन सार्वजनिक, ५.२ म्याग्निच्युड भूकम्पको जस्तै प्रतिघण्टा ८८ किलोमिटरको तीब्र बेगको बाढी

धरानः सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ ।
जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनअनुसार माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा गएको ’आइस–रक एभलान्स’ अर्थात् हिमपहिरोका कारण बाढी आएको हो । भयानक हिमपहिरो खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जासमेत रेकर्ड गरिएको थियो ।
प्रतिवेदनका अनुसार यो बाढी रसुवागढीसम्म प्रतिघण्टा ८८ किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो । तीव्र वेगको बाढीले पूर्वसूचनाका लागि समय नै नदिई नदी किनारमा रहेका रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुका महत्त्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्णरूपमा नष्ट गरिदिएको छ ।
यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा ६ लाख ७८ हजारभन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ ।
बाढीपछि माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा दुई वटा नयाँ अस्थायी ताल बनेका छन् । यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औँल्याएको छ ।
यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्वसूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभीमार्फत ’रियल–टाइम’ नदी अनुगमन प्रणाली जडान गरिएको छ ।

प्रकाशित मिति: भाद्र २८ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend