धरानः वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक र काम्य कर्मका विधि समावेश गरिएका कर्मकाण्ड विधानलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी इन्टरनेटमा राखी सहज बनाइएको छ।
धर्म, संस्कृतिको संरक्षणका लागि आम मानिसलाई सेवा गर्ने उद्देश्यले वैदिक अनुसन्धान गुठी (वाग) ले कर्मकाण्ड विधिलाई सहज रुपमा ‘मोबाइल एप डाउनलोड’ गरी कर्म गर्न, गराउन सकिने गरी सार्वजनिक गरेको हो । यसका लागि वाग्का अध्यक्षसमेत रहेका युवा सन्त डा स्वामी केशवानन्द गिरिको नेतृत्वमा ४० जना जनशक्तिले दुई वर्षसम्म गृहकार्य गरिएको थियो।
धर्म रक्षा र वैदिक सनातन हिन्दू धर्मावलम्बीको सेवाका लागि दान दिएका दाताको करिब रु ७० लाखको लागतमा यो काम सम्भव भएको हो।
विश्वमै पहिलोपटक मोबाइल एपमा यो सेवा उपलब्ध गराउन सफल भएको उनले बताए। यो एपको प्रयोग गरी कर्म गराउने गुरु पुरोहित र कर्म गर्ने कर्ताले समेत धर्मशास्त्रसम्बन्धी जिज्ञासा पनि राख्नसक्ने व्यवस्था मोबाइल एपमा गरिएको छ।
शुक्ल यजुर्वेद, माध्यन्दिनीय शाखा सूत्र भएकाका कर्मको निर्धारण गरिने धर्मसिन्धु, निर्णयसिन्धु, याज्ञवल्क्य स्मृतिलगायत ग्रन्थमा भएको व्यवस्थाअनुसार प्रश्नकर्ताले इन्टरनेटकै माध्यमबाट सोधिएका जिज्ञासाको जवाफ पाउने डा स्वामी केशवानन्द गिरि बताउछन्।
यो एपमा पात्रो (पञ्चाङ्ग) पनि राखिएको छ । सूर्य सिद्धान्त र दृग् गणना दुवै आधारमा गणित गरिएको पात्रो एपमा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा राखिएका मुहूर्त र साइतमा पनि एपमा समावेश गरिएको छ । मुहूर्त पछिसम्म हेर्न सकिने गरी एपमा राखिएको छ । दैनिक, मासिक र वार्षिक राशिफल पनि यो एप डाउनलोड गर्ने प्रयोगकर्ताले हेर्न पाउनेछन्।
प्रयोगकर्ताले राखेको वास्तविक समयका आधारमा सङ्कल्प पनि एपले देखाउँछ । गुरु पुरोहितले यसको वाचन मात्र गरेर कर्म गराउन सक्छन्। सङ्कल्पमा उल्लेख गर्नुपर्ने सबै विषय वास्तविक समय र स्थानका आधारमा एआईले एपमै उपलब्ध गराउँछ । यसका लागि नेपालका करिब सात हजार नदी, नालाको नाम पनि यो एपमा समावेश गरिएको छ । नेपालका तीर्थहरु पनि यो एपमा राख्ने क्रम अन्तिम चरणमा पुगेको स्वामी केशवानन्द गिरिले बताए।
विश्वका मुख्य, मुख्य नदी पनि समावेश गरिएको छ । विश्वका विभिन्न भागमा रहेका अन्य नदी, नालालाई समावेश गर्ने क्रम चलिरहेको पनि उहाँले सुनाउनुभयो । विश्वको जुन कुनामा बसेर यो एपमा वास्तविक समय राखिन्छ । त्यी समय र स्थानका आधारमा एआई विधिबाट एकै छिनमा सङ्कल्प तयार भएर मोबाइलको स्क्रिनमा आउँछ । जसले गर्दा शुद्ध कर्म गराउने गुरु, पुरोहितको अभाव रहेको अवस्थामा सहज रुपमा कर्म गराउन सहयोग मिल्छ।
चार भाषामा कर्मकाण्ड विधि
वेदका मूल मन्त्र संस्कृत भाषामै राखिएको छ । कर्मकाण्डको विधि भने नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी गरी चार भाषामा राखिएको छ । जसबाट विश्वको जुनसुकै कुनामा रहेका वैदिक सनातन हिन्दू धर्मावलम्बी लाभान्वित हुनेछन् । कुन कर्मका लागि पूजा सामग्री के कति चाहिन्छ ? यजमानले के के गर्नुपर्छ ? भन्ने प्रश्नको जवाफ पनि एपबाट नै पाउन सकिन्छ।
कर्म गराउने ब्राह्मण र कर्म गर्ने यजमानको कर्तव्य पनि एपमा उपलब्ध गराइएको छ । कुन कर्ममा के आवश्यक पर्छ र केलाई निषेध गरिएको छ भन्ने पनि स्पष्ट रुपमा राखिएको छ । मात्रासहितको पूजा सामग्रीको जानकारी यो एपबाट पाइन्छ । गुरु, पुरोहित र यजमान दुवै थरीले हेर्न मिल्ने गरी ‘सफ्टवेयर’ विकास गरिएको छ । सुरु गरेको चार महिनाभित्रमा यसका सबै अङ्ग स्थापित हुने गुठीले जनाएको छ।
एपमा चान्द्रमासअनुसार तिथि राखिएको छ । गोत्र, प्रवरको सूची पनि यहीँ राखिएको छ । यो एपमा कम्पास पनि राखिएको छ । जसबाट कुन दिशा कता हो भन्ने जानकारी लिएर कर्म गराउन सहज बनाउँछ । विभिन्न तिथि, मितिलगायतको परिवर्तन (कन्भर्ट) गर्ने सेवा पनि यो एपले उपलब्ध गराएको छ । यो एप मोबाइलमा ‘डाउनलोड’ गरेर अफलाइनमा पनि कर्म गराउन सकिन्छ।
तर अफलाइनमा रहेका बेला वास्तविक समय र स्थान राखेपछि आउने सङ्कल्प भने आउँदैन । यो एपमा कुण्डली निर्माणको वाग् ‘सफ्टवेयर’ पनि राखिएको छ । एआईले गर्ने फलादेश पनि यहीँबाट पाउन सकिन्छ।
धर्मशास्त्र र ज्योतिषसहितको यो कर्मकाण्ड ‘सफ्टवेयर’ नेपालमा मात्र नभई विश्वमै पहिलो भएको यसको निर्माणमा अहोरात्र दुई वर्ष खटिनुभएका स्वामी केशवानन्द गिरिले जानकारी दिनुभयो । यस्तो ‘सफ्टवेयर’ अहिलेसम्म भारतमा पनि बनेको थिएन । जसलाई कम्प्युटरको अत्याधुनिक प्रविधि एआईको प्रयोग गरेर निर्माण गरिएको छ । यो एआई मोडललाई ‘टे«न’ गर्न वाग्ले अमेरिकाबाट नेपाली रु १० लाख पर्ने अत्याधुनिक कम्प्युटरसमेत नेपाल भित्र्याएको उनले बताए। यसका लागि वाग् अमेरिका शाखाका अध्यक्ष तुलसीराम सुवेदीले पनि सहयोग गरेका छन्।
यो एपमा राख्न विवाह, व्रतबन्धको विधि पनि तयार भएको छ । सबै देवी, देवताका स्तोत्र पनि यही एपमा राख्न लागिएको छ । वाग्ले धर्म सेवाको मुख्य उद्देश्यले यो काम गरेकाले अहिलेलाई मोबाइलमा डाउनलोड गरी निःशुल्क उपयोग गर्न सकिन्छ । यसबाट धर्मरक्षाका साथै धर्मशास्त्रका ग्रन्थको पनि सुरक्षा हुने विश्वास गरिएको छ । यसबाट वैदिक वाङ्मयको विश्वव्यापी प्रचार पनि हुनेछ । यो काम नेपालबाटै हुनुले वैदिक ज्ञानको विश्वव्यापी नेतृत्वले नेपाल गर्नसक्ने सन्देश पनि प्रवाह हुनेछ।
शास्त्रीय ग्रन्थ अनुवाद गरेर एपमा राखिने
रामायण, महाभारतलगायत पूर्वीय दर्शनका ग्रन्थको नेपाली अनुवाद गरी यो एपमा राख्नका लागि पनि काम भइरहेको छ । यसमा विद्वान्हरुले काम गरिरहनुभएको छ । स्वामी केशवानन्द गिरिले नै तयार पारेको नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषामा बनाइएको शब्दकोश पनि यो एपमा राखिने छ । एक दशकअघि उनले यो शब्दकोश मोबाइल र कम्प्युटरमा खोल्न सकिने गरी उनले तयार पारेका हुन्।
नेपालभर रहेका धार्मिक तीर्थस्थल, गुरुकुल, गौशालाको जानकारी पनि यो एपमा समावेश गरिने छ । यी सामग्री पनि एक वर्षभित्र एपमा राखिसक्ने गरी वाग्ले काम गरिरहेको छ । एपका माध्यमबाट कर्म गराउन सहज हुन्छ । मोबाइल राखेर कर्म गराउँदा पुस्तक राखेजस्तो आस्था भने नहुन सक्छ।
जुनसुकै कर्म गराउन ठूला, ठूला पुस्तक बोकेर हिँड्नु पर्दैन । एप डाउनलोड गरेको मोबाइल बोके पुग्छ । मोबाइलमा आउने एपको प्रयोग गर्दा यसको पठनपाठनमा कमी आउन सक्छ । यो एपको प्रयोग गर्दा केही बेफाइदा भए पनि धेरै भने फाइदा नै छन्।
शुद्ध सङ्कल्प र वाक्य मोबाइल एपमै आउने भएकाले विश्वका जुनसुकै कुनामा पनि धार्मिक कृत्य गर्दा एकरुपता र शुद्धता हुन्छ । यो एपको प्रयोग नगरी पुस्तकका आधारमा कर्म गर्दा ठाउँ अनुसार कर्म गराउने विधिमा केही फरक हुने गरेको थियो । मोबाइलमा विधिका पुस्तक उपलब्ध हुँदा पुस्तक राख्ने ठाउँको आवश्यकता पर्दैन । यो एपले नयाँ पुस्तालाई धर्म, संस्कृतितर्फ आकर्षण गराउन सहयोग गर्छ।
देशका विभिन्न भागमा कर्मकाण्ड गराउने गुरु, पुरोहितलाई यो प्रविधिका बारेमा प्रशिक्षित गराउने योजना पनि वाग्को छ । कर्म गराउन सक्ने गुरु, पुरोहितको परीक्षा लिएर सूची पनि एपमै राखेर यजमानलाई पनि सहज बनाइने स्वामी केशवानन्द गिरिले बताए।
यसरी लिइने परीक्षा पनि अनलाइन प्रविधिबाट नै गरिने योजना पनि वाग्ले अघि सारेको छ । अनलाइन परीक्षापछि कर्मकाण्ड गराउने गुरु, पुरोहितको योग्यताअनुसारको सूची मोबाइल एपमै उपलब्ध गराइने छ । यसका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग पनि सहकार्य गर्न सकिने उनले बताए । जसबाट यजमानलाई योग्य गुरु, पुरोहितका विषयमा जानकारी पाउन सजिलो हुन्छ।
पको यो सुरुवाती भर्सन भएकाले यसमा सुधार गर्दै जाने स्वामी केशवानन्द गिरि बताउछन्। विदेशमा रहेका नेपालीलाई धर्म र आस्थासँग जोड्न यसले सहज रुपमा सहयोग गर्छ।
गौशाला, गुरुकुलका विषयमा एपमा जानकारी राखेपछि प्रत्येक कर्म गर्दा गोदानका रुपमा गुरु, पुरोहितले लिने दक्षिणा कर्म गरेको नजिकको गौशालालाई दिन चाहनुहुन्छ कि ? भन्ने जिज्ञासा पनि गुरु, पुरोहितलाई एपमै राखिनेछ।
दिन चाहेमा अनलाइनबाट त्यो रकम दिन सकिने गरी ‘सफ्टवेयर’ विकास गरिएको छ । नजिकको गुरुकुलका विषयमा जानकारी एपमा राखेपछि सिदा गुरुकुललाई दिने कि भनी अनलाइनबाट सोधिनेछ । गुरु, पुरोहितले चाहेमा दिन सक्नेछन् । सम्बन्धित कर्मबाट प्राप्त भएको दक्षिणाको १० प्रतिशत रकम पनि ती गौशाला, गुरुकुल वा नजिकको तीर्थस्थललाई दिन चाहेमा दिन सकिने व्यवस्था मिलाइएको छ । यसका माध्यमबाट वाग्ले यो शिक्षाको सुरक्षा गर्न खोजेको हो।
वैदिक सनातन धर्म र संस्कृतको अध्ययन, अनुसन्धानका लागि वाग्
वैदिक सनातन धर्म र संस्कृत शिक्षाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गरी वैदिक वाङ्मय एवं संस्कृतभित्र निहित ज्ञानविज्ञानको महत्व दर्शाउने उद्देश्यले वाग्को स्थापना भएको हो।
नेपालभित्र मात्र नभई सम्पूर्ण विश्वमा संस्कृतको महत्व बढिरहेको बेला अध्ययन, अनुसन्धान, विश्लेषण तथा खुला, पारदर्शी, न्यायपूर्ण, आत्मनिर्भर र समतामूलक समाज निर्माण गर्ने कार्यमा वैदिक वाङ्मयको सार्वकालिक, सार्वभौम तथा सार्वजनीन उपयोगिता सिद्ध गर्न गुठीले काम गरिरहेको छ।
यसका लागि आवश्यक अध्ययन–अनुसन्धान गर्दै वर्तमान र भावी पुस्ताका नेपाली एवं विश्व समुदायलाई समेत गुठीको उद्देश्य पूर्तिका लागि प्रोत्साहित र अभिप्रेरित गर्न नागरिकस्तरमा एक अध्ययन, अनुसन्धान र जागरणमूलक गुठी स्थापना गर्न आवश्यक देखिएकाले डा स्वामी केशवानन्द गिरिको सत्सङ्कल्पमा वैदिक अनुसन्धान गुठी (वाग्) नामक एक सार्वजनिक गुठी स्थापना गरिएको हो।
गुठीले शुक्लयजुर्वेद संहिता, अनुवाद चन्द्रिकाका चार भाग, रुद्राष्टाध्यायी, संस्कार शिक्षाका तीन भाग, दशशान्तिमन्त्र, छन्दःशिक्षा, श्रीमद्वाल्मीकी यरामायणका दुई खण्ड, वैदिक पञ्चाङ्ग र वाग् नेपाली संस्कृत शब्दकोश प्रकाशन गरिसकेको छ । यो एपको निर्माणमा सहयोग गरेका नेपाली मूलका भुटानी सुवेदी हाल अमेरिकाबाट वाग्को आश्रम गौरीघाट आएर वैदिक वाङ्मयको अध्ययनमा लागेका छन्।
यो एपले वैदिक ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण गर्न सहज हुने बताए। मोबाइल फोन, ट्याब्लेट, ल्यापटपजस्ता आधुनिक उपकरण प्रयोग गर्ने नव पुस्तालाई ती माध्यमबाट हेर्न र अध्ययन गर्न सकिने एपको विकासले यसतर्फ आकर्षित गर्ने विश्वास पनि उनले व्यक्त गरे। अडियो, भिडियो र पोडकास्टका माध्यमबाट वैदिक वाङ्मयका बारेमा बुझाउन पनि एपले सहयोग गर्ने विश्वास गरिएको छ।
अमेरिकामा कर्मकाण्ड समेत गर्ने सुवेदी बुबाको पुस्ताबा आफ्नो पुस्तामा आउँदा कर्मकाण्ड गराउने गुरु, पुरोहितको सङ्ख्यामा ५० प्रतिशतले कमी आएको सुनाउछन्।
अमेरिकाको भर्जिनिया, न्यूयोर्क र क्यालिफोर्नियाजस्ता शहरमा धेरै नेपाली र हिन्दू धर्मावलम्बी पनि भएकाले त्यस्ता ठाउँमा यो एपको महत्व हुने उनको विचार छ।
नेपालमा क्रियाशील युवा पुस्ताका पण्डितलाई पनि यो एपले आकर्षित गर्ने देखिन्छ । गुरु, पुरोहितका रुपमा विगत दुई दशकदेखि काम गर्दै आएका कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका ४३ वर्षीय विदुर सापकोटा यो एपले किताब बोक्नुपर्ने झन्झट नहुने र सङ्कल्प एवं वाक्य पनि शुद्ध हुने भएकाले कर्म गराउन सहयोग पुग्ने बताए।