Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यस वर्ष कक्षा-१ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

हाम्रो कोशी आवाज
भाद्र ३० २०८३, मंगलबार
यस वर्ष कक्षा-१ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

धरानः सरकारले विद्यालय तह (कक्षा १–१२) को पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाएको छ । २०७६ मा सरकारले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गरेको थियो । त्यसलाई परिमार्जन गर्न विभिन्न तहमा काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनको काम भइरहेको बताएका छन् । शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले प्रारूप परिमार्जन गर्ने निर्णय गरेको थियो । गत वैशाखमा पाठ्यक्रम परिमार्जन तथा पुनरावलोकन कार्यदल गठन गरी प्रक्रिया थालिएको थियो ।
काठमाडौं विश्वविद्यालका प्राध्यापक बालचन्द्र लुइँटेल संयोजकत्वको कार्यदलले नयाँ पाठ्यक्रम निर्माणका लागि देशभर नै सुझाव संकलनको काम गरिरहेको छ । सुझाव संकलनका लागि शिक्षामन्त्री पोखरेलसमेत प्रदेशस्तरीय छलफलमा सहभागी भएका छन् । मधेश प्रदेशका विभिन्न जिल्ला पुगेर उनले सरोकारवालाको सुझाव लिएका हुन् । विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको सुझाव समेटेर नयाँ पाठ्यक्रम निर्माणको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।
‘बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गरिनेछ । आम सुझावलाई सम्बोधन गरेर २०७६ को पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गरिनेछ,’ उनले भने । केन्द्रका निर्देशक तथा सूचना अधिकारी पुरुषोत्तम घिमिरेले पाठ्यक्रम परिमार्जनका लागि प्रदेश, स्थानीय तह र विद्यालयस्तरमा सुझाव संकलन भइरहेको जनाए । ‘कार्यदलले नीतिगत सुझाव संकलनको काम गरिरहेको छ,’ उनले भने, ‘परिमार्जनको काम गर्न द्रुत योजनामा काम भइरहेको छ ।’
सहभागितामूलक प्रक्रियाबाट पाठ्यक्रम बनाएर लागू गर्ने प्रयास गरिएको केन्द्रले जनाएको छ । ‘माथिबाट पाठ्यक्रम बनाएर लागू गर्नेभन्दा पनि यस पटक कार्यान्वयनकर्ता र विद्यार्थीको सहभागिता पनि पाठ्यक्रम निर्माणमा खोजिएको छ । नागरिकस्तरमा नै छलफल गरेर सुझावहरू लिने काम भएको छ,’ निर्देशक घिमिरेले भने ।

प्रकाशित मिति: भाद्र ३० २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend