झापा: विद्यार्थी जीवनका आरोह–अवरोह, शिक्षामा देखिने अवसरको असमानता र पारिवारिक अवस्थाले पढाइमा पार्ने प्रभावलाई कथाको आधार बनाइएको चलचित्र ‘स्ट्रगल अफ स्टुडेण्ट’ को छायाङ्कन पूरा भएको छ । छायाङ्कन सकिएसँगै निर्माण टिम अहिले चलचित्रलाई विजया दशमीको अवसरमा दर्शकमाझ ल्याउने तयारीमा जुटेको छ ।
पाथीभरा थिएटर एण्डसिने प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र झापाको सामाजिक तथा शैक्षिक परिवेशलाई आधार बनाएर तयार गरिएको हो । चलचित्रको पोस्टरले पनि विद्यार्थीको संघर्षलाई केन्द्रमा राखिएको कथावस्तुलाई संकेत गर्छ । पोस्टरमा विद्यालय पोसाकमा रहेका विद्यार्थीका साथै शिक्षक र अन्य पात्रलाई समेटिएको छ । यसले विद्यालय, विद्यार्थी र परिवारबीचको सम्बन्ध तथा विद्यार्थीले भोग्ने विभिन्न परिस्थितिलाई कथाको प्रमुख पाटो बनाइएको देखाउँछ ।
चलचित्रमा आर्थिक रूपमा सम्पन्न र विपन्न परिवारका विद्यार्थीले शिक्षाका क्रममा पाउने अवसरमा देखिने अन्तरलाई उठाइएको छ । एउटै विद्यालय र एउटै कक्षामा पढ्ने विद्यार्थीको पारिवारिक अवस्था फरक हुँदा उनीहरूको अध्ययन, अवसर र भविष्यमा त्यसको प्रभाव कस्तो पर्छ भन्ने विषयलाई कथामार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
शिक्षक र विद्यार्थीबीचको सम्बन्ध, अभिभावकको भूमिका तथा विद्यालयको वातावरणले शैक्षिक गुणस्तरमा पार्ने प्रभाव पनि चलचित्रका महत्वपूर्ण विषय हुन् । आर्थिक अभावलाई सफलताको अन्तिम बाधा नमान्दै मेहनत, अनुशासन, लगन र प्रतिभाबाट अघि बढ्न सकिने सन्देश चलचित्रले दिन खोजेको छ ।
‘स्ट्रगल अफ स्टुडेण्ट’को कथा, लेखन तथा निर्देशन प्रितमकुमार धमलाले गरेका छन् । चलचित्रको पटकथा तथा संवाद मञ्जिल अधिकारीको रहेको छ । रमेशकुमार खरेल निर्माता हुन् भने राजु खरेल उत्पादन व्यवस्थापनमा छन् ।
चलचित्रमा कृषा भण्डारी, राजु खरेल, राज लावती, अनुष्का ढुङ्गाना, अनुभव खापुङ, रिदम ढकाल, दीपा पोखरेल र तुलसी मिश्रलगायत कलाकारको अभिनय छ । विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजका विभिन्न पक्षसँग जोडिएका पात्रमार्फत चलचित्रको कथा अघि बढाइएको छ ।
प्राविधिक पक्षमा राज लावतीको छायाङ्कन, विकास चौधरीको संगीत, सुवास लिम्बूको मेकअप तथा राजु लावतीको नृत्य निर्देशन रहेको छ । चलचित्रका गीतमा दिनेशराज शर्मा र डा। कुमार सुबेदीका शब्द छन् ।
झापाका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्रले स्थानीय परिवेशलाई कथासँग जोडेको छ । चलचित्र निर्माणको उद्देश्य मनोरञ्जनमा मात्र सीमित नराखी शिक्षासँग सम्बन्धित सामाजिक विषयमा दर्शकलाई सोच्न बाध्य बनाउने रहेको निर्देशक धमलाको भनाइ छ ।
‘विद्यार्थीको वास्तविक संघर्षलाई पर्दामा ल्याउने प्रयास गरेका छौँ,’ निर्देशक धमलाले भने, ‘परिवारको आर्थिक अवस्था, विद्यालयको वातावरण र विद्यार्थीको मेहनतबीचको सम्बन्धलाई दर्शकले चलचित्रमा अनुभूति गर्न सक्नेछन् ।’
छायाङ्कन पूरा भएपछि चलचित्रको सम्पादन, प्राविधिक काम र प्रदर्शन तयारीलाई अघि बढाइएको निर्माण पक्षले जनाएको छ । विजया दशमीलाई प्रदर्शनको मुख्य समयका रूपमा लिँदै चलचित्र दर्शकमाझ पुर्याउने तयारी भइरहेको छ ।
विद्यार्थीको सपना, संघर्ष र शिक्षाको यात्रालाई सामाजिक यथार्थसँग जोडेको चलचित्र ‘स्ट्रगल अफ स्टुडेण्ट’ अब छायाङ्कनको चरण पार गरेर दर्शकको प्रतीक्षामा पुगेको छ । दशैंको अवसरमा प्रदर्शनमा ल्याउने तयारीसँगै चलचित्रले झापाको स्थानीय कथालाई ठूलो पर्दामा कस्तो रूपमा प्रस्तुत गर्छ भन्ने चासो बढेको छ ।