धरानः धरानमा जारी औद्योगिक तथा जुत्ता–चप्पल मेलामा प्रथम नेपाली तारा तथा चलेका गायक दीपक लिम्बूले दर्शक नचाएका छन् ।
खचाखच भरिएको मेलामा दीपक लिम्बूले चलेका आधा दर्जन बढी गीत गाए । खचाखच दर्शककै कारण पनि धरानमा दीपक लिम्बूको अझै ‘चार्म’ देखिएको छ । उनीसँग सेल्फी हान्नेको पनि कमी रहेन । दीपकका अधिकांश गीत लोकप्रिय छन् । ‘आफूलाई मन परेको कलाकार आउँदा दर्शकको भीड त लाग्ने नै भयो,’ मेलामा भेटिएका विक्रम राईले भने,, ‘यो भीडको कारणको अर्थ यही हो ।’ उनका गीतमा युवायुवती मात्र नभई बालबालिका र पाकासमेत राति अबेरसम्म नाचिरहेका थिए ।
दर्शकदीर्घाबाट ‘वान्समोर’ आएको आयै भयो । मैले माया गर्न जाँनिनँ, मैले त्यही भएर मन पराको, यहाँ देशको छ चिन्ता, ‘नाइँ नभन्नु ल’, मागेर पाउने भए ‘सिम्पल सिम्पल’ लगायत थुप्रै चर्चित गीतका सर्जक उनले चलेकै गीत गाए ।
औद्योगिक मेलामा दिनहुँजसो कलाकार ल्याइएको र आज मेलिना राईको प्रस्तुति रहेको प्रचारप्रसार संयोजक मानबहादुर विश्वकर्मा दियालीले जानकारी दिए । दैनिकजसो कलाकार धरान ओरालिएको कार्यक्रमका कोअर्डिनेटर सौरभ श्रेष्ठ बताउँछन् ।

