धरानः सरकारले पुरै देश ‘लकडाउन’ गर्ने घोषणा गरेपछि धरानको भानुचोक चकमन्नझैं बनेको छ ।
नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको थियो ।
भानुचोक आइपुग्ने केही मोटरसाइकल चालक, केही सवारी चालकलाई पनि मोटरसाइकल नचलाउन आग्रह गरिरहेको छ । बिहान ६ बजेदेखि सवारी चालक, मोटरसाइकल चालकलाई रोक्दै लकडाउनबारे जानकारी दिइएको छ । धरान उपमहानगरपालिकाले कोही बाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरेको छ । कोही कोही भने रमिता हेर्ने निहुँले पनि भानुचोक पुगेका देखिन्थे । तर उनीहरूलाई प्रहरीले स्पष्ट कारण खोज्ने गरेको छ । कतिपयलाई प्रहरी, ट्राफिक प्रहरी, धरान उपमहानगरपालिकाको प्रहरीले सम्झाएर पठाउने गरेको देखिन्छ ।
मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरिएको हो । फ्रान्सबाट आएकी एक नेपाली युवतीमा कोरोनाको संक्रमण देखिएको र भारतीय सीमा नाकाबाट प्रवेश गर्नेको संख्या नियन्त्रणबाहिर जान थालेपछि सरकारले देशभर लागू हुने गरी लकडाउन गर्ने निर्णय लिएको हो ।
आदेशअनुसार मंगलबार बिहान ६ बजेदेखि औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक सेवाबाहेकका सबै सवारी बन्द हुनेछन् ।
स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक, निजी र यात्रुवाहक सवारी साधन सञ्चालनमा अब पूर्णतः रोक लागेको छ । अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधनले स्थानीय प्रशासनबाट अनुमति लिनुपर्नेछ । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाका कर्मचारीले भने बिदा पाउने छैनन् । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठक ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
