धरानः धरानमा कोरोना संक्रमित महिला रहेको शिवधारा क्षेत्रलाई सिल गरिएको छ ।
शिवधारामा रहेकी उनी अहिले कहीपनि नगएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले अहिले सो क्षेत्रमा सिल गरिएको बताए ।
‘अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरी सो स्थान सिल गरिएको छ’, उनले भने, ‘उनी कहीँकतै नगएको देखिएकोले सो क्षेत्रलाई सिल गरेर सुरक्षित गर्न लागिएको हो ।’ त्यसक्षेत्रमा आवागमन बन्द गर्न प्रहरी परिचालन गरिएको छ ।
चिकित्सकका अनुसार उनको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । क्यान्सर रोगबाट पीडित श्रीमानको उपचारको लागि बीपी प्रतिष्ठान पुगेकी उनलाई कोरोनाको संक्रमण भएपछि अहिले धरानमा उनको सम्पर्कमा आएकाहरूको खोजी गरी कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ ।
संक्रमित भनिएकी ५१ महिला वर्षीया महिला श्रीमानसँगै प्रतिष्ठानको ओपिडी खुलेपछि जँचाउन पुगेकी थिइन् । धरानका मेयर तिलक राईले लकडाउनलाई पुर्णरुपमा पालना गर्न आग्रह गरेका छन् । मेयर राईले विज्ञप्ति जारी गरी नगरवासीलाई घरमै बसी चिकित्सकको सुझावज लिन समेत आग्रह गरेका छन् ।
