धरानः कुनैपनि व्यक्ति कोरोना संक्रमित भएको १२ दिनपछि अन्य व्यक्तिमा संक्रमण सार्न नसक्ने एक अध्ययनले देखाएको छ ।
सिंगापुर नेसनल सेन्टर फर इन्फेक्सन डिजिजेजले हालै अमेरिका र चीनका कोरोना संक्रमितहरु गरी ७३ जनामा गरेको अनुसन्धानबाट उक्त तथ्य फेलापरेको हो ।
सो अध्ययनकाअनुसार कोरोना संक्रमित व्यक्तिको शरीरमा सो भाइरस रहिरहेता पनि दोस्रो व्यक्तिहरुमा सर्ने छैन । सो संस्थाका डिरेक्टर लिओ यी सिनकाअनुसार कोरोना संक्रमितलाई ‘आइसोलेसन’मा जम्मा ११ दिन राखे पुग्ने र १२औं दिनमा ‘डिस्चार्ज’ गरेपनि फरक नपर्ने जनाइएको छ ।
विश्वभर कोरोनाका कारण तीन लाख ४८ हजार बढीको मृत्यु भइसकेको छ ।
बालबालिकामा मानसिक असर
हाल कोरोना भाइरसका कारण जारी रहेको लकडाउनका कारण बालबालिका तथा किशोर किशोरीहरु लाई पनि लामो समयसम्म मानसिक असर पर्ने देखिएको छ ।
अमेरिकामा हालै गरिएको एक अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।हाल कोरोना भाइरसको प्रकोपको नियन्त्रणका लागि भन्दै विश्वका विभिन्न देशमा लकडाउन गरिएको छ । यसका कारण बालबालिका तथा किशोर किशोरीहरु घरमा एक्लै बस्नुपर्ने अवस्था आएको छ । यसरी उनीहरुलाई एक्लै छोड्दा अहिले नै र पछि गएर पनि उनीहरुमा एक्लोपना रुचाउने र डिप्रेसनमा पनि जानसक्ने देखिएको हो ।
बालबालिका तथा किशोरकिशोरीहरुको एक्लोपना र मानसिक अवस्था विषयमा अमेरिकामा सो अनुसन्धान गरिएको हो । अमेरिकाको एक स्वास्थ्यसम्बन्धी जर्नलमा प्रकाशन गरिएको सो लेखमा ४ देखि २१ वर्षसम्मका बालबालिका र किशोर किशोरीहरुमा अनुसन्धान गरिएको थियो ।
यसरी गरिएको यस अध्ययनमा एक्लोपनमा बस्ने किशोरकिशोरीहरुमा अन्य सामान्य अवस्थामा भन्दा तीन गुणा बढी डिप्रेसनको सम्भावना हुने देखिएको छ । अहिलेको यो एक्लोपनाले आगामी कम्तीमा ९ वर्षसम्म उनीहरुमा डिप्रेसनको समस्या ल्याउन सक्ने सो अध्ययनमा देखिएको छ ।
सो अध्ययनमा अहिलेको कोभिड १९ ले मानिसको मानसिक स्वास्थ्यमा पारेको प्रभावको बारेमा बुझ्न अरु कम्तीमा पनि १० वर्ष लाग्नसक्ने देखिएको पनि बताइएको छ ।