काठमाडौंः उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ ।
समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको अध्ययनले जनाएको छ ।
अमेरिकी पत्रिका वासिङ्टन पोष्टले सो अध्ययनको समाचार प्रकाशित गरेको छ । समाचारअनुसार यस अध्ययनमा अष्ट्रेलिया, बोलिभिया, क्यानाडा र स्वीट्जरल्याण्डका अनुसन्धानदाताहरुले सो अनुसन्धान गरेका हुन् ।
उनीहरुले बोलिभिया, इक्वेडर र तिब्बतको अध्ययन गरेका थिए । सो अनुसन्धानबाट समुद्री सतहबाट कम उचाइमा रहेका ती अरु देशको तुलनामा तिब्बतका मानिसमा कोरोनाको प्रकोप कम रहेको पाइएको हो । तिब्बत उच्च हिमाली क्षेत्रमा पर्दछ । अन्यत्रको तुलनामा तिब्बतका नागरिकमा संक्रमणको दरमा तीन गुणाले कमी पाइएको छ ।