काठमाडौं: सरकारले कोरोना भाइरसको संक्रमितहरुको वर्गीकरण गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित र बिरामी छुट्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले कोरोना भाइरस संक्रमण देखिएपनि लक्षण नदेखिएकालाई घरमै राख्नुपर्ने अवस्था आउन लागेको बताए ।
‘लक्षण भएका बिरामीलाई अस्पतालमा र कोरोना संक्रमण भएपनि बिरामी नभएकालाई घरमै राख्ने सोँचमा पनि छौं,’ उनले भने । क्वारेन्टाइनको गुणस्तर बढाएर आइसोलेसन बनाउने तयारीमा सरकार रहेको देवकोटाले बताए ।
अहिलेसम्म धेरैजसो संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । सोमवारसम्म देशभरका क्वारेन्टाइनमा १ लाख १३ हजार ७ सय ५७ जना छन् ।