काठमाडौंः बिहीबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ । हालसम्म २९० जनाले कोरोना जितेर घर फर्किएका छन् ।
कोरोना संक्रमणमुक्त हुनेहरुमध्ये २३४ जना पुरुष र ५६ जना महिला रहेका छन् । अहिले देशभरका २१ स्थानबाट कोरोना परीक्षण भईरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । गत २० गते मृत्यु भएका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङ सुन्दर हरैचाका २४ वर्षी पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तै, नारायणी अस्पताल वीरगन्ज गरिएको परीक्षणमा पर्सा पोखरीयाकी १५ वर्षीय किशोरीको रिपोर्ट पोजिटिभ आएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा भद्रपुरका ३ जना, ताप्लेजुङ घर भई सुनसरी क्वारेन्टिनमा रहेका १ जना, मोरङका १, सप्तरीका १३ जना गरी १८ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।
त्यस्तै, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा बाराका ७ जना, सिन्धुली कमलामाईका १, रौतहटका १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
पोखराको प्रयोगशालमा म्याग्दीका १, बागलुङका १० जना, पर्वतका ४, स्याङजाका १ गरी १६ जना, सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ३ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा दैलेखका १०५ र मुगुका १, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २, खोटाङका ३ गरी ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले बताए ।
त्यस्तै, प्रदेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ५, धनुषका ६, कपिलवस्तुका १२, महोत्तरीका ३, रौतहटका ६४, सर्लाहीका ३ जना गरी ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
२९० जना कोरोनालाई जितेर घर फर्केका छन् । यसैबीच पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।
पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो । पूर्वखोला– २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो । स्वास्थ्य मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको छ । उनी ५ दिनअघि भारतबाट आएका थिए ।
अस्पतालमा उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पाल्पामा मृत्यु भएका पुरुषको बिहीबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।