काठमाडौंः पछिल्लोपटक थपिएको जेठ ३२ सम्मको लकडाउन सकिएपछिका ७० दिनभित्र आंशिक र सम्पूर्णरुपमा लकडाउन खोल्ने गरी स्वरुप तयार भएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले असार १ गतेपछि लकडाउन खोल्ने विस्तृत स्वरुप तयार पारेको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई बिस्तारै खुकुलो पार्दै लैजानेबारे छलफल भएपछि समितिलाई योजनाबारे सघन छलफल गरेर मन्त्रिपरिषद्रुमा ल्याउने जिम्मा पनि दिइएको छ । विभिन्न ६ चरणमा लकडाउन खोल्ने गरी समितिले तयार पारेको यो योजना अहिले विभिन्न तहमा छलफलमा छ ।
पहिलो चरण
पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोलिने उल्लेख छ । कृषिमा दुध, अन्नबाली, तरकारी, फलफुल, सम्पूर्ण कृषिजन्य उत्पादनको कार्य आशिंक खोल्ने प्रस्ताव छ । तर, सुरक्षात्मक उपायहरु अपनाई सामाजिक दूरी काय गरी संचालन गर्नुपर्ने हुन्छ । त्यसको रेखदेख गर्न भने स्थानीय निकाय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, परिस्थिति जटिल बन्दै गए स्थानीय प्रशासनको निर्णयमा सेनासमेत खटिने उल्लेख छ । असार १ गतेपछि आंशिक रूपमा हवाइ उडान सुरु गर्ने प्रस्ताव छ ।
यस्तै, दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउने प्रस्ताव छ । तर, अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइराख्ने भएको छ ।
दोस्रो चरण
पहिलो चरणको अनुभवका आधारमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्ने । यस्तै, जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिने । तर, धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, व्युटि पार्लर, सैलुन आदि भने त्यस तहमा पूर्णरूपमा बन्द गर्ने ।
तेस्रो चरण
दोस्रो चरणमा खुल्ने सबैसहित निजी सवारी साधन सञ्चालन गर्न दिने । सवारी साधान सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा निजी सवारी साधन व्यवस्थापन गर्ने । लामो दूरीका सार्वजनिक यातायात तथा हवाइ उडान सेवा पनि सुरु गर्ने ।
चौथो चरण
तेस्रो तहको लकडाउनको मूल्याङ्कन गरी २ हप्ता थप गर्ने, संक्रमितको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी लकडाउन हटाउने उल्लेख छ । यो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्ने उल्लेख छ । बाह्य उडान भने आशिंक रुपमा चल्न दिने योजना छ ।
पाँचौ चरण
चौथो चरणको स्वरुपको मूल्यांकन गरी दुई हप्तालाई पाँचौ चरण मानिएको छ । यो चरणमा विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू, सूचना तथा सञ्चार, बैकिंङ् तथा वित्तिय संस्था, खेलकुद, धार्मिकस्थल, सरकारी तथा निजी कार्यालय संचालन गर्ने । घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम गर्नेलगायत सबै खुला गर्ने ।
२५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी चल्लान् ?
कोभिड–१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।
समितिले चरणवद्धरुपमा लकडाउन खुकुलो बनाउने योजना बनाएको छ, जसमा १०० भन्दा कम सक्रिय केस भएका जिल्लाहरुमा जेठ २५ बाट जिल्ला नकट्ने र सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटा दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै, असार १ बाट सिट क्षमताका आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने प्रस्ताव छ ।
तर, कोरोना संक्रमणको सयभन्दा बढी केसहरु भएका जिल्लामा यो मापदण्ड लागू हुने छैन । साथै, उच्चस्तरीय समितिले तयार पारेको यो प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत नगर्दासम्म सार्वजनिक यातायात चल्ने छैनन् ।