काठमाडौंः कारले भोलिदेखि लकडाउनको स्वरुप परिवर्तन गरी निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ । जोर बारमा जोर नम्बर भएका र बिजोर दिनमा बिजोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ ।
तर, मोटरसाइकलमा चालक मात्र बस्न पाउनेछन् । त्यस्तै, कारमा चालकबाहेक दुई जना मात्र बस्न पाउने निर्णय गरिएको छ । निजी सवारी साधनमार्फत यात्रु ओसारपसार हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले निजी सवारी साधन जोर बिजोरका आधारमा चल्ने निर्णय भएको जानकारी गराएका हुन् ।
‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने । व्यक्तिलाई मास्क लगाएर पैदल यात्रा गर्न रोक नलगाइने खतिवडाले जानकारी दिए । उता सरकारले सार्वजनिक यातायात तत्काल नचलाउने निर्णय गरेको छ । निजी सवारी साधान सञ्चालनमा भने सहज हुने भएको छ । उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिइनेछ । उद्योग, पसल, डिपार्टमेन्टलहरुलाई खुला गरिएको छ। मानिसहरु पैदल हिँड्ने पाउने भएका छन् ।