काठमाडौंः सरकारले सरकारी तथा गैरसरकारी कार्यालय पूर्ण रुपमा सञ्चालनमा ल्याउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले कार्यालय दुई सिफटमा सञ्चालन हुने बताएका हुन् ।
कार्यालयका साथै शिक्षण संस्थासमेत सञ्चालनमा आउने भएको छ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।
कार्यालयहरुमा कामको चाप रहेकोले दुई सिफ्टमा काम गर्न लागिएको उनले बताए ।
यस्तै, कृषि तथा पशुपंक्षी व्यवसायका उत्पादन तथा वितरण, उद्योग, व्यापार, व्यवसाय र पसल तथा डिपार्टमेन्टल स्टोर खुला हुनेछ । सपिङ मल सञ्चालनमा नआउने सरकारको निर्णय छ । सबै प्रकारका ढुवानी सेवा सञ्चालनमा आउनेछन् ।
सरकारको निर्णय अनुसार शैक्षिक संस्था, ट्युसन सेन्टर तथा तालिम केन्द्र पनि सञ्चालनमा आउने छैनन् । अनुमति प्राप्त बाहेक आन्तरिक तथा बाह्य हवाइ उडान बन्द हुनेछन् । यस्तै, सभा, सम्मेलन, गोष्ठी तथा तालिममा रोक यथावत राखेको छ । प्रदर्शन तथा भेला पनि रोक नै लाग्नेछ । सिनेमा घर, पार्टी, प्यालेस पनि बन्द रहनेछन् । सबै प्रकारका मनोरञ्जन र खेलस्थल बन्द रहनेछन् । निर्णय अनुसार सपिङ मल पनि सञ्चालन नहुने भएका छन् ।