धरानः सुनसरी देवानगंज–७ रासी बस्ने जगरुप यादवको ५ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको छ ।
घर निजकै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक लडेर पोखरीमा डुबेको अवस्थामा आफन्तले तत्काल देखी उपचारार्थ लैजादै गर्दा निज नाबालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा कानुनी कारबाही भइरहेको सो कार्यालयले जनाएको छ ।
उता भोजपुर रामप्रसादराई गाउँपालिका–५ बस्ने १४ वर्षीया पुष्पा पराजुलीको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
रामप्रसाद राई गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा को२त ८७१४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल झरी दुर्घटना हुँदा सोही ट्याक्टरमा रहेकी बालिका पुष्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टरमा रहेका अन्य ५ जना समेत घाइते भएकोले उनीहरुलाई थप उपचारको लागि विराटनगरतर्फ ल्याउँदै गरेको सो कार्यालयले जनाएको छ । ट्याक्टर चालक भोजपुर आमचोक बस्ने ३५ बर्षीय मान बहादुर श्रेष्ठ नियन्त्रणमा रहेका छन् ।
यसै गरी उदयपुर उदयपुरगढी–६ बस्ने ९ वर्षीया विविशा पाण्डेको ट्याक्टर दुर्घटनाबाटै मृत्यु भएको छ ।
उदयपुरगढी–७ बाघखोर स्थितमा को स १ त ५१०७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्टरमा रहेकी बालिका बिबिषाको घटनास्थलमै मृत्यु भएको जिलल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर चालक बिदुर पाण्डे नियन्त्रणमा रहेको र मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको सो कार्यालयले जनाएको छ ।