काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको छ । नेपालको ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।
प्रवक्ता डा. गौतमकाअनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो । पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ । यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुवै टेष्ट पोजेटिभ आएको छ ।
शनिबारसम्म लाख ५० हजार ५ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् । चार हजार ४ सय ४ जनाको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म एक लाख २७ हजार २ सय ८८ जनाको पीसीआर र एक लाख ९० हजार ५ सय ८२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । एक लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ । आजै ३६ जना डिस्जार्च भएसँगै कोरोना संक्रमणपछि निको हुनेको संख्या नौ सय १३ पुगेको छ ।
थपिएका संक्रमित कहाँका ?
संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका छन् ।