धरानः नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुलसंख्या ७ हजार ८ सय ४८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा दुवै जना कैलालीका रहेका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप दुई जनाको मृत्यु भएको पुष्टि गरे ।
प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि धनगडीकै नवजीवन अस्पतालमा उपचारका लागि गएका उनलाई जेठे ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनलाई सेती प्रदेशिक अस्पताल सारिएको र उपचारकै क्रममा बुधबार बेलुका ७ बजेर ५२ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै, कैलालीकै लम्की चुहा नगरपालिका–२, की ४३ वर्षीया महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको हो ।
उनको जेठ ३१ गते टाउकोमा चोड लागेको र सबड्युरल हेमाटोमा भएका कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भर्ना गरिएको थियो ।
सर्जरी गर्नुअघि उनको पीसीआर परीक्षणका लागि असार २ गते स्वाब संकलन गरिएको थियो । उनको बुधबार बेलुका कोरोना पुष्टि भएको थियो भने उनको मृत्यु मंगलबार (असार) २ गते नै भएको थियो ।
पछिल्लो दुई जना थपिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ ।