धरानः नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ६ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
झापा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, बारा, बागलुङ लगायत जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् । सबैभन्दा बढी प्रदेश १ को मोरङ ८ संक्रमित भेटिए भने सुनसरीमा २, झापामा १ जना संक्रमित पुष्टि भएको छ ।
यस्तै, डोटी ६१, नवलपरासी पूर्व ३२, महोत्तरी २४, डडेलधुरा १२, सर्लाही ९, तनहुँ २३, बागलुङ २०, बैतडी १८, गुल्मी १८, पाल्पा १८, बारा ४, कैलाली १, काठमाडौं १, नवलपरासी पश्चिम १, रामेछाप ३, रौतहट २, रुपन्देही १, धादिङ ८, भक्तपुर ७, स्याङ्जा १, रौतहट ५, कैलाली २, बाँके १४, बर्दिया ७, रुकुम पश्चिम १, दाङ ४, प्यूठान ८ जना संक्रमित भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको बताए । जसमध्ये १ सय ४१ महिला र १ हजार ४ सय २७ पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । योसँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा ८ जना पुरुषमा कोभिड १९ संक्रमित फेला परेको हो । त्यसैगरी सुनसरीको कोशी गाँउपालिकामा २ जना महिलामा समेत पीसीआर रिपोर्ट पोजेटिभ फेला परेको गाँउपालिका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए । अध्यक्ष अन्सारीका अनुसार भारतको दिल्लीबाट आएका उनीहरुलाई गएको १५ दिनबाट गाउँपालिकाको वडा नम्बर १ स्थित राजापोखरी क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकामा यससँगै ४ जनामा कोभिड १९ पुष्टि भएको छ । प्रदेश एकमा १७ महिला र २ सय १७ पुरुष गरी कुल २ सय ३४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । यस्तै हालसम्म २२ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।