मानिसलाई तन्दुरुस्त राख्न योग सबैभन्दा ठूलो उपाय हो । तर, यसको नियमितता आवश्यक पर्दछ । मानिसको समग्र स्वास्थ्यसँगै यौन स्वास्थ्यका लागि पनि योग महत्वपूर्ण सावित भएको देखिन्छ । यौन इच्छाका लागि विज्ञहरूको सल्लाहअनुरूप केही विशेष योगाभ्यास गर्नु राम्रो हुन्छ । तर, यसको निरन्तरता र नियमितता उत्तिकै धेरै आवश्यकता छ ।
सुखी र सन्तुष्ट यौन जीवनका लागि शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । यसमा योगको भूमिका प्रमाणित भइसकेको छ । उत्तेजना समस्या, शीघ्रपतन, यौनप्रति उदासीनताजस्ता पुरुष र महिलाका यौन समस्या योगद्वारा हटाउन सकिने बताइन्छ । ईश्वर दाहालले योगले यौन क्षमता वृद्धि गर्न कसरी सघाउँछ ? बेलीविस्तार लगाएका छन् । योग र ध्यान योगी/सन्न्यासीसँग जोडिएका विषय भएकाले योगका कारण ‘सेक्स पावर’ बढेको कुरा सेयर गर्न जो कोही हिचकिचाउँछन् । योगका गुरुहरूले पनि योग गराउँदा यी–यी आसन तथा मुद्राले यौन क्षमता वृद्धि गर्छ भनेर भन्दैनन् । तर, योगले पुरुषमा हुने इरेक्टाइल डिस्फंक्सन (लिंग उत्तेजित नहुने समस्या), शीघ्र पतन र महिलामा योनी ओभानो हुने (फ्रिजिडिटी) जस्ता यौन समस्या हट्ने योग गुरुहरू दाबी गर्छन् । ‘योगका धेरै फाइदामध्ये यौन क्षमता वृद्धि पनि एक हो,’ योग गुरु डा. योगी विकासानन्द भन्छन्, ‘गृहस्थी जीवन बिताइरहेकाहरूले योगबाट आफ्नो यौन क्षमता बढाउन सक्छन् ।’
पदम दोङ १७ महिनादेखि नियमित योग गरिरहेका छन् । योगले आफूलाई भित्रैदेखि खुशी तुल्याएको बताउने दोङ योगका धेरै फाइदामध्ये यौन क्षमता वृद्धि पनि हो भन्छन् । ‘मलाई शीघ्र स्खलनको समस्या थियो,’ उनले भने, ‘सेक्स सुरु गर्न पाएको छैन, स्खलित भइहाल्ने समस्याले हैरान थिएँ । कुण्डलिनी योग साधना गर्न थालेपछि शीघ्र स्खलनको समस्या हटेको छ । अहिले १० देखि १५ मिनेटसम्म सेक्समा टिक्न सक्ने भएको छु ।’
योग गर्न थालेपछि आत्मविश्वासको तह पनि बढ्ने भएकाले सहवासका बेला निकै फाइदा पुग्ने गरेको उनी बताउँछन् । कुण्डलिनी योग साधनमा उत्तेजना नियन्त्रण गर्नेदेखि शीघ्रपतन रोक्नेसम्मका अभ्यास समेटिएकाले यो प्रभावकारी रहेको दोङ बताउँछन् । योगले आफूमा धेरै परिवर्तन आएको उनको भनाइ छ ।
जिना र जीतबहादुर (नाम परिवर्तन) दम्पती पनि कुण्डलिनी योग साधना गरिरहेका छन् । उनीहरूले केही वर्षअघि प्रेम विवाह गरेका थिए । तर, जिना र जीतबहादुरको सम्बन्ध निकै तनावग्रस्त हुँदै गइरहेको थियो । दुवैको छुट्टाछुट्टै व्यवसाय छ । कामबाट फर्केपछि एकापसमा झगडा गरेर नै उनीहरू रात कटाउँथे । जबदेखि उनीहरू दुवै जना योग गर्न थाले उनीहरूमा नाटकीय परिवर्तन आएको जीतबहादुर बताउँछन् । ‘म एकदमै रिसाउँथेँ,’ उनले भने, ‘हाम्रो नियमित सहवास हुँदैनथ्यो । सहवासका लागि श्रीमती कहिल्यै पनि तयार नहुने गरेका कारणले गर्दा यौन जीवन ध्वस्त थियो ।’ दुवै जनाले नियमित योग गर्न थालेपछि आफूहरूको धेरै समस्या समाधान भएको जिना बताउँछिन् । सहवास र महिनावारीका बेला हुने पीडा पनि योग गर्न थालेपछि हटेको उनले बताइन् ।
योगी विकासानन्दका अनुसार यी आसनले यौन क्षमता बढाउन मद्दत गर्छन् ।
व्याघ्रासन
यो आसनले मेरुदण्डलाई लचिलो बनाउँछ । पेटको बोसो कम गर्छ । स्नायुप्रणालीलाई स्वस्थ राख्छ । रक्तसञ्चारलाई क्रियाशील गराउँछ । पाचन प्रक्रिया सन्तुलित राख्छ । कब्जियत घटाउन लाभदायक मानिन्छ । बच्चा जन्मिसकेपछि पाठेघरलाई ठीक ठाउँमा ल्याउन मद्दत गर्छ । रक्तस्रावको समस्या समाधानमा लाभदायक छ । पेटका मांसपेशी बलियो पार्छ । भुँडी लागेको मानिसले राम्रोसँग सहवास गर्न नसक्ने भएकाले यो आसनपछि पेट घट्ने भएकाले सहवास सजिलो हुन्छ ।
गरुडासन
यो पुरुषले गर्ने आसन हो । यसले घुँडालाई बलियो बनाउँछ । एकाग्रता बढाउँछ । शारीरिक र मानसिक संयोग तथा सन्तुलन कायम गर्छ । अण्डकोष वृद्धिमा फाइदाजनक छ । शारीरिक र मानसिक सन्तुलन मिलेपछि सेक्समा राम्रो पर्फर्मेन्स गर्न सकिन्छ ।
संकटासन
शरीरिक तथा मानसिक सन्तुलन कायम गर्छ । खुट्टा, घुँडा र तिघ्रालाई बलियो एवं लचिलो बनाउँछ । भव्य सेक्सका लागि शरीरमा पर्याप्त लचकता आवश्यक पर्छ । योग तथा शारीरिक अभ्यासले शरीरमा लचकता बढाउने भएकाले यो फाइदाजनक हुन्छ ।
भुजंगासन
यो आसनले रक्तअल्पता, यौन दुर्बलता, मोटोपन, शरीर अल्पविकास, बाथ, टाउको दुख्ने आदि समस्याका साथै पाचनप्रणाली, मृगौला, कलेजोसम्बन्धी समस्याहरू हटाउन मद्दत गर्छ । साथै छारे रोग, मधुमेह, मासिक धर्मसम्बन्धी समस्या आदिमा लाभ पु¥याउँछ । धेरैवटा समस्या कम गर्न उपयोगी भएकाले यो आसन गर्नेहरूको सेक्स लाइफ पनि राम्रो हुन्छ ।
सेतुबन्धासन
यस आसनले मेरुदण्ड र गर्धनलाई मजबुत बनाउँछ । पिनियल, पिट्युटरी र थाइराइड ग्रन्थीहरूमा रक्तसञ्चार सक्रिय बनाउँछ । थाइराइडले यौन उत्तेजनामा पनि समस्या हुने भएकाले थाइराइड कन्ट्रोल हुँदा यौन उत्तेजना वृद्धि हुन सक्छ ।
पर्वतासन
पर्वतासनले शारीरिक र मानसिक सन्तुलन कायम गर्न मद्दत पुर्याउँछ । मन शान्त राख्छ । शरीरका मांसपेशीलाई बलियो बनाउँछ । छाती फराकिलो पार्छ । ढाड सीधा बनाउँछ । यो आसन पनि सेक्स पावर बढाउन उपयोगी छ ।