धरानः अहिले जताततै हल्ला छ– अब फेरि लकडाउन हुने । तर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब लकडाउनको स्वरूप मात्रै फेरिने बताएका छन् ।
‘अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुन्छ’, उनले भने । सामान्य अवस्था नआउँदासम्म भीडभाड हुने ठाउँहरू बन्द नै रहन्छन् ।’ उनले भने ।
उनले स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट सञ्चालन नहुने बताए । उनले जहाँ संक्रमण हुन्छ त्यहाँ सिल गरिने पनि बताए ।
जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको नयाँ मोडालिटी बनाएपछि अर्थात केही खुकुलो भएपछि दैनिक गतिविधि पनि बढेका छन् । सरकारले कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै गत चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो । साढे दुई महिना बढी भएको देशव्यापी लकडाउनले अर्थतन्त्रमा गहिरो प्रभाव पारेको भन्दै असार १ गतेदेखि लकडाउन खुकुलो पारिएको छ ।