धरानः उदयपुर त्रियुगा नगरपालिका–१३ असारी बस्ने ४५ वर्षीय कानन चौधरीको चटयाङले लागेर मृत्यु भएको छ । बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई वर्षासंगै आएको चट्याङले लाग्दा उनी घाइते भएकोमा जिल्ला अस्पताल उदयपुरमा ल्याइ उपचार गराउने क्रममा उनको बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उता सप्तरीमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङले ज्यान गएको छ ।
घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ । २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।
बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए ।