Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिकता दिऔंः जसपा

हाम्रो कोशी आवाज
असार १६ २०७७, मंगलबार
गोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिकता दिऔंः जसपा

धरानः धरानलगायत देशभर जनता समाजवादी पार्टीले प्रदर्शन गरेको छ ।
जनता समाजवादीका अध्यक्ष ताजुब लिम्बूले धरानस्थित भानुचोकमा भेला भएर प्रदर्शन गरिएको जानकारी दिए । संसदीय समितिबाट पारित नेपालको नागरिकता (पहिलो संशोधन) ऐन २०७७ फिर्ता लिन माग गर्दै प्रदर्शन गरिएको उनले जानकारी दिए । भुपु सैनिक गजेन्द्र इस्वोले हालको नागरिकता विधेयकले गोर्खा भुपुको सन्ततिलाई समेत नराम्रो असर गर्ने बताए । कार्यक्रममा धरानको खानेपानी, रुकुम घटना आदिबारे पनि खबरदारी गरिएको थियो ।
नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाईलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ ।
उता काठमाडौंलगायत देशभर नै जसपाले प्रदर्शन गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राई, नेताहरु डा. बाबुराम भट्टराई, शरतसिंह भण्डारी र रेणु यादवले गोर्खा फौजका सन्तानलाई वंशजको नागरिकता दिन माग गरे ।
‘गोर्खा फौजका हाम्रा दाजुभाई दिदीबहिनीहरु र जसलाई पहिलो र दोस्रो विश्वयुद्धमा जबर्जस्ती गोठगोठबाट तानेर, जंगलबाट तानेर जान्न भन्दाभन्दै जबर्जस्ती भर्ती गरेर विदेशी फौजमा पठाइएका हाम्रा गोर्खा सैनिक र उनीहरुका छोराछोरीहरुलाई आज नागरिकताबाट बञ्चित गराउने षड्यन्त्र भइराखेको छ,’ वरिष्ठ नेता राईले भने, ‘बेलायत, भारत र नेपाल सरकारको त्रिपक्षीय सम्झौताअन्तर्गत गोर्खा भर्तीमा गएका नागरिकहरुलाई अनागरिक बनाउने षड्यन्त्र भएको छ । त्यसलाई रोक्न यो विधेयकमा व्यवस्था हुनुपर्छ भन्ने हाम्रो माग छ ।’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोर्खा भर्तीबाट बेलायत, ब्रुनाई, सिंगापुरलगायतका देशमा बसेका नेपालीहरुका सन्तान सम्बन्धित देशमै जन्मिएर उतैको नागरिकता लिने गरेको उल्लेख गर्दै उनीहरुलाई नेपाली नागरिकता लिनबाट बञ्चित गर्न नहुने र वंशजको आधारमा नागरिकता दिनुपर्ने बताए ।
भूपू गोर्खा सैनिकहरुले वंशजका आधारमा आफूहरुले लिएको नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गर्दै आएका थिए ।

प्रकाशित मिति: असार १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend