काठमाडौंः सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको बताएका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्तापछि बैठक स्थगित भएको हो ।
पार्टी प्रवक्ता श्रेष्ठले सत्तारुढ नेकपामा खतरा उत्पन्न भएको बताएका छन् । प्रवक्ता श्रेष्ठले एकता गम्भीर संकटमा परेकाले त्यसबाट जोगाउन भोलि सहमति जुटाउन समय दिइएको र पर्सी बिहान ११ बजे बैठक बस्ने बताए ।
प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीमा गम्भीर समस्या बढेको र त्यसले एकतामा खतरा उत्पन्न गरेको छ ।’
प्रधानमन्त्री ओलीले बिहीबार नै मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकले संसदको वर्षे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गराएको थियो ।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली सहभागी नभएको स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकतामा संकट देखा परेको बताएका हुन् ।
‘हाम्रो पार्टी एकतामा गम्भीर संकट देखा परेको छ,’ उनले भने,‘तर, पार्टीलाई यो संकटबाट बचाउनु पर्छ ।’
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमति विपरीत मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीले बोलाएको आरोप लगाए । ‘हाम्रा दुई अध्यक्ष कमरेडहरुबीच आज मन्त्रिपरिषद् बैठक नराख्ने र स्थायी कमिटी बैठकमै केन्द्रित हुने समझदारी भएको थियो । तर, त्यो सहमति विपरीत प्रधानमन्त्रीजीले मन्त्रिपरिषदको बैठक राख्नु भयो,’ उनले भने ।