धरानः नेपाल निम्न आय भएको देशबाट निम्न मध्यम आय भएको देशमा उक्लिएको छ ।
सार्वजनिक तथ्याङ्कअनुसार नेपाल निम्न आय भएको देशबाट मध्यम आए भएको देशमा उक्लिएको हो । विश्व बैंकले यो तथ्याङ्क निकालेको हो ।
गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल निम्न आय भएको देशमा थियो । सन् २०१९ मा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले १०३५ अमेरिकी डलरभन्दा कम प्रतिव्यक्ति आम्दानी हुने देशलाई न्यून आयवर्गमा राख्दै आएको छ ।
नेपालमा गएको तीन आर्थिक वर्षमा कुल गार्हस्थ त्पादनको वृद्धिदर (आर्थिक वृद्धि) क्रमशः ८ दशमलव २, ६ दशमलव ७ र ७ प्रतिशत हासिल भएपछि प्रतिव्यक्ति आम्दानी पनि त्यही अनुपातमा बढेको हो ।
दक्षिण एशियाली देशहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको देश माल्दिभ्स रहेको छ । सन् २०१९ मा माल्दिभ्सको प्रतिव्यक्ति आम्दानी ९ हजार ६ सय ५० अमेरिकी डलर रहेको विश्व बैंकले जनाएको छ ।
विश्वबैंकले संसारभरीका देशलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ । विश्व बैंकले १ हजार ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका देशहरुलाई न्यून आयवर्गमा, त्यसभन्दा माथि ४ हजार ४५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ । ४ हजार ४६ देखि १२ ३ सय ३५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखिएको छ ।