Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनले अधिकांश सहकारीमा समस्या, ‘सहयोग आदानप्रदान गरौं’

हाम्रो कोशी आवाज
असार २० २०७७, शनिबार
धरानमा लकडाउनले अधिकांश सहकारीमा समस्या, ‘सहयोग आदानप्रदान गरौं’

धरानः कोभिड १९ को लकडाउनका बीच धरानमा शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस स्वास्थ मापदण्ड अपनाएर सुरक्षित तरिकाले मनाइएको छ ।
धरान नगर सहकारी समन्वय समितिको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर नगरस्तरीय सहकारी भेला समेत एकैपटक सम्पन्न भएको छ । धरान नगर सहकारी समन्वय समिति र जिल्ला सहकारी संस्था लि. सुनसरीको संयुक्त आयोजनामा भएको कार्यक्रमबाट आउँदो साउनबाट धरान–९ मा समन्वय समितिको कार्यालय स्थापना गर्ने सहमति जुटेको छ ।
कोष नभएकाले कार्यालय सञ्चालनका लागि जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष तथा वडा नं. १५ का अध्यक्ष नरेश इवारमले एक वर्षका लागि मासिक १ हजारको दरले सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै, जिल्ला सहकारी संघका १५ जना सदस्य तथा समन्वय समितिका २१ जना सदस्यले मासिक ५ सय, प्रारम्भिक सहकारी संस्थाले मासिक ३ सयको दरले सहयोग गर्ने सहमति जुटेको छ ।
कार्यक्रमका प्रमुख अतिथी इवारमले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपनि लकडाउनको स्थिति केही खुकुलो हुँदै गएकोमा सुरक्षाको मापदण्ड अपनाएर कार्यक्रम गरिएको बताए । अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार अन्य राष्ट्रहरू सँगै नेपालमा समेत त्यही सिद्धान्तमा रहेर सहकारीहरू सञ्चालन हुने गरेको छ ।
सहकारी एन २०७४ अनुसार व्यवस्थितरूपमा चलेको सहकारीलाई लकडाउनले पनि कुनै समस्या नदिएको बताउँदै उनले सबै सहकारीलाई ऐनअनुसार चल्नका लागि आग्रह गरेका छन् । तर लकडाउनका कारण धरानको अधिकांश सहकारीमा समस्या देखिएकोले यस्तो बेला एउटा सहकारीले अर्को सहकारीलाई साथ सहयोग गरी एक हुनका लागि समेत उनले आग्रह गरेका थिए ।
कार्यक्रममा नै धरानको फुडबैंकमा सहयोग गरेका ५५ वटा सहकारीलाई प्रशंसापत्र समेत वितरण गरिएको छ । कोभिड १९ को कारण समस्यामा परेको परिवारलाई राहत प्रदान गर्न स्थापना भएको फुड बैंकमा ५ लाख १८ हजार बराबरको खाद्यान्न प्रदान गरिएको थियो । धरानका सहकारी मध्यै पवित्र साकोसले सबैभन्दा बढी ६२ हजार नगद दिएका थिए । यस्तै, सुम्निमा साकोसले २५ हजार र उधमशिल साकोसले १५ हजार १ सय नगद प्रदान गरेको थियो ।
नगर सहकारी समन्वय समितिले समय समयमा सहकारी सम्बन्धी विभिन्न तालिम, सहकारी शिक्षा तथा सहकारीको समस्याको समेत सुनुवाइ गर्ने गरेको समन्वय समितिका संयोजक मिसन लामाले बताइन् ।
यो कार्यलाई निरन्तरता समेत दिइने उनले बताइन् । कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष दिनेश श्रेष्ठ, महिला उपाध्यक्ष शारदा मगर, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष शिवराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई समन्वय समितिका सचिव ज्ञानेन्द्र बस्नेतले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: असार २० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend