धरानः लकडाउनमा घरमै बसेका कलाकारहरूले अहिले आफ्नो प्रतिभा लुकाएर बस्नुपरिरहेको छ । तर युवा गायक भक्तिराज राई भने लाइभ प्रस्तुतिका रूपमा देखापरेका छन् ।
धरानस्थित दन्तकाली एफएमले साउने संक्रान्तिको अवसर पारेर भर्चुअल लाइभ म्युजिक सेसन कार्यक्रमको अवसर जुराइदिएपछि उनी लाइभमा करिब एकघण्टा अडिए । उनले लोक साथै आधुनिक गीत गाएर दर्शकलाई मनोरजन दिलाएका थिए । उनले जहाँ छन् बुद्धका आँखा, बरपिपलको छायाँ, निष्ठुरीलाई माया गरी, धाराको पानी, लाग्छ मन हेरिरहुँ, बिन्दा बनकी जमुनाको तिर, बिर्सनेले बिर्सिमा गयो, कुसुमे रुमाल, तिमीसँग नजर जुधाइ, धरान, धनकुटा, भेडेटार, कान थापेर सुनिदेऊलगायतका गीत पस्के ।
‘दर्शक, स्रोतालाई म हराएको छैन, धरानमा छु भन्ने सन्देश दिलाउन पनि यस्तो कार्यक्रममा सरिक हुन पाएँ, हेरेर साथ दिनुभएकोमा विशेष धन्यवाद ।’ उनले भने । एफएमका समाचार सम्पादक तथा कार्यक्रम सञ्चालक तिर्थ कार्कीले भर्चुअल लाइभ म्युजिक सेसन जारी रहने बताए ।