Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वर्षायाममा पनि धरानमा खानेपानीको हाहाकार

हाम्रो कोशी आवाज
साउन १४ २०७७, बुधबार
वर्षायाममा पनि धरानमा खानेपानीको हाहाकार

धरानः अहिले वर्षायाम हो । वर्षायाममा पनि धरानमा खानेपानीको हाहाकार भएको छ ।
अहिले धरान–९, ११ र १६ नं. वडामा विशेषतः चारदिनदेखि पानी आएकै छैन । चारदिनदेखि पानी नआउँदा अहिले स्थानीयबासी तनावमा छन् । सुख्खा मौसममा खानेपानीको समस्या हुने धरानमा अहिले वर्षायाममा समेत थोप्पै पानी नआएको धरान–११ का रेन्सु राई बताउँछिन् । यस्तै, धरान–११ कै शिक्षक ओम रिमालले पनि चार दिनदेखि थोप्पै पानी नआएको बताए । धरान–१६ की गृहिणी लिला दाहालले चारदिनदेखि पानी नआउँदा मिनिरल वाटरले काम चलाउँदै आएको बताइन् ।
खानेपानी संस्थान खानेपानी वितरणमा भारी कटौती गरेपछि धरानमा खानेपानीको हाहाकार मच्चिएको हो । वर्षायाममा बिहान बेलुका नै खानेपानी वितरण गर्दै आएको संस्थानले महिना केही महिनादेखि दिन बिराएर मात्रै पानी वितरण गर्न थालेको थियो तर त्यो पानी पनि अहिले वितरण छैन ।
यसपालीको वर्षामा धरानको खानेपानी मुहानमा कुनै क्षति पुगेको थिएन । कतै बाढी–पहिरोले पनि पाइप बगाएको थिएन । तर पनि वर्षामै खानेपानी अभाव हुनु र खानेपानीको हाहाकार व्यहोनुपरेपछि उपभोक्ताहरु आजित भएको धरान–११ का शिक्षक रिमाल बताउँछन् । धरान–११ का किसान टोल, सयपत्री चोक, गोदावरी चोक, किसान टोल, शान्तिपथ, रुदुइपा मार्गलगायतका स्थानमा पानी आएको छैन ।
उनले पानीको अभावले मुस्किलले खाना पकाउनका लागि मात्र भएपनि मिनिरल वाटरले काम चलाउनुपरेको बताए । उनले पानीको महसुल तिर्न घामपानी नभनी लाइन लागेर जाँदा एकसाता ढिलो भएमा संस्थानले तत्काल जरिवाना तिराउने गरेको तर उपभोक्ता माथि यस्तो खेलवाड गर्नु दुःखद् भएको बताए । ‘आकाशको पनि तीन दिन खाइसक्यो’, उनले भने, ‘अब त मुस्किल भइसक्यो ।’
धरान–९ का वडाध्यक्ष रत्न कटुवाल पनि पानी नआएको बताउँछन् । ‘तीनदिनदेखि पानी नआएपछि हामी डेलिगेनशन र कार्यालय घेराउ गर्ने भन्दै पुग्यौं’, उनले भने, ‘तरपनि पानी आएन ।’ आचार्यलाइन र पुतलीलाइनमा पानी आएको तर अन्य ठाउँमा नआएपछि अहिले पनि दुई चार जनाको उपभोक्ताको फोन आइसकेको उनले बताए । ‘अहिले पनि तीन चारजनाको फोन आइसकेको छ’, उनले फोन सम्पर्कमा भने, ‘के गरौं भनेर छलफल चलाइरहेका छौं ।’
‘हिजो पनि निकै चर्काचर्की भयो’
वडाध्यक्ष कटुवालले हिजो (मङ्गलबार) संस्थानको कार्यालयमा कार्यालय प्रमुखसँग चर्काचर्की नै परेको बताए । ‘८–१० जनाको टोली डेलिगेसन गएका थियौं, पानीकै विषयमा निकै चर्काचर्की भयो’, उनले भने, ‘प्रमुख रामकुमार श्रेष्ठले मुहानको कारणले हो, अब व्यवस्थापन मिलायौं भनेको तर पानी अझैसम्म पनि आएको छैन ।’ आजचाहिँ ६ बजे दिनुपर्ने पानी १० बजेतिर आएछ तर एकैछिन आएको उनले बताए । ‘धरानको संस्थानले हावाको मात्रै पैसा लिने हो, पानीको होइन’, उनले भने, ‘यस्तो बदमासी अब सहिन्नँ ।’
संस्थानलाई बोर्डमा नल्याउनका लागि यस्ता लफडा मच्चिइरहेको उनले आरोप लगाए । ‘संस्थानलाई खानेपानी बोर्डमा नगाभ्ने रणनीति र प्रपन्च हो भन्ने कुरा सबैले बुझिसकेका छन्, पानी नदिनू र समस्यामा पार्दै असहयोग गर्नु यसकै परिणाम नै हो ।’ उनले भने ।
‘मेयरले पनि चाहनुभएको छैन’
धरान मेयर तिलक राईले पनि भित्रीरूपमा खानेपानीलाई संस्थानलाई बोर्डमा गाभ्न नमानेको उनले आरोप लगाए । ‘खासमा भित्रीरूपमा धरानका मेयरले पनि खानेपानी संस्थानलाई बोर्डमा गाभ्न चाहिरहनुभएको छैन भन्ने मेरो बुझाइ हो’, उनले भने, ‘तर पनि धराने जनतालाई सधै यसरी काकाकुल त बनाउनुभएन नि ।’
‘काठमाडौंबाट आउने चिठी रोकियो’
उनले धरानका मेयर, उपमेयर नै खानेपानीका लागि काठमाडौंस्थित मन्त्रालय पुगेको तर त्यहाँ एक समूह गएर रोकिएको ठोकुवा गरे । ‘त्यहाँ चिठी तयार हुँदै गर्दा मन्त्रालयमा गएर रोक्ने समूह पनि धरानमा लागिपरेको मैले जानकारी पाएको छु’, उनले भने, ‘धरानेलाई काकाकुल बनाउँदै किन यसो गरिँदैछ, बुझ्न सकिएन ।’

पानी आएपनि दूधजस्तो
धरानमा पानी आएपनि दूधजस्तो धमिलो पानीले धराने हैरान भएका छन् । एडिबी परियोजनामा पनि रकम तिरिसकेका स्थानीयले धमिलो पानी नै खान बाध्य भएका हुन् । धरान-१६ का लक्ष्मण बस्नेत अहिले दूधजस्तो पानी खानुपरेकोमा धराने आक्रोशित बन्दै गएको बताउँछन् ।
संस्थानका प्रमुख रामकुमार श्रेष्ठले भारी वर्षाका कारण पानी वितरण रोकिएको बताए । भारी वर्षामा त छेलोखेलो पानी वितरण हुँदै आएको थियो त ? भन्ने प्रश्नमा उनले भने, ‘मुहानमै पनि समस्या छ नि ।’ उनले बुधबार बेलुकीदेखि छेलोखेलो पानी वितरण गर्ने ठोकुवा गरे । ‘भरे बेलुकीदेखि हेर्नुहोस्, छेलोखोलो पानी आउँछ ।’
पानी आएपनि दूधजस्तो पानी वितरण गर्ने होला नि ? भन्ने प्रश्नमा उनले भने, ‘पानी फिल्टर हुँदैछ, सङ्लो पानी नै आउँछ ।’

प्रकाशित मिति: साउन १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend