Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हिले-पाख्रीबास सडकः गुणस्तरहीन काम

हाम्रो कोशी आवाज
साउन २३ २०७७, शुक्रबार
हिले-पाख्रीबास सडकः गुणस्तरहीन काम

धनकुटाः पूर्वी पहाडका भोजपुर र संखुवासभा जिल्लालाई तराईसँग जोडने मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–पाख्रीबास सडक खण्डको सडक स्तरोन्नति गर्ने कार्य गुणस्तरहीन भएको पाइएको छ ।
१३ किलोमिटर सडक–खण्ड गुणस्तरहीन भएको उपभोक्ताको गुनासो गरेका हुन । जसअन्तर्गत हिलेदेखि पञ्चेसम्मको १३ किलोमिटर सडकमा सवारी गुड्नै सक्ने अवस्थामा नरहेको यात्रुहरुको गुनासो छ । ‘द कञ्चनजंघा रायमाझी मोतीदान जेभी’ले हाल निर्माण गरिरहेको सडक ठेकेदार कम्पनीले तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७२ चैत २ गते सम्झौता गरेको थियो । सडक निर्माण गर्न ३८ करोड २३ लाख २४ हजार ४ सय ६६ रुपैयाँमा सम्झौता गरेको कम्पनीले हाल सम्म ६५ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
निर्माण व्यवसायीले कामै नगरी २८ करोडभन्दा बढी रकम भुक्तानी लगेकोमा सांसद् राजेन्द्रकुमार राईले समेत आक्रोश पोखिसकेका छन् । तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि ६ वर्षमा पनि काम सम्पन्न भएको छैन । जिल्ला प्रशासन कार्यालयमा १४ पटकसम्म बैठक बसेर निर्माण कम्पनीलाई सडक निर्माणको लागि दबाव दिँदा पनि काम नभएको जिल्ला समन्वय समितिका प्रमुख टंक चौहानले बताए ।
मध्यपहाडी लोकमार्ग हेर्ने परियोजनाका प्रमुख दीपक केसीले ठेकेदार कम्पनीले आफूले गरेको गल्ती स्वीकार गरिसकेको बताए । परियोजनाका इञ्जिनियर अवदेश यादवले ६५ प्रतिशत काम गरेको निर्माण कम्पनीलाई ७४ प्रतिशत रकम भुक्तानी दिनु नै गल्ती भएको बताए ।
पाख्रीबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले सडक कालोपत्रे गर्न सडकमा राखेको गिट्टीसमेत हिलाम्मे सडकमा डोजरमार्फत् हालेको बताए । वर्षौंदेखि हिले–पाख्रीबास–लेगुवा सडक–खण्ड हिलाम्मे र धुलाम्मे हुँदा सो सडक हुँदै भोजपुर, सङ्खुवासभा जाने सवारी साधन र यात्रुले सास्ती खेप्दै आएका छन् ।

प्रकाशित मिति: साउन २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend