धरानः समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ नै तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बनाएको छरु। चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
धन देखेपछि महादेवका तीन नेत्र उखान गाउँघरमा चलनचल्तीमा रहे पनि चोरी गर्नुलाई गम्भीर पाप गर्नुसरह मान्ने स्थानीय मान्यता छ । यसै मान्यताका कारण नाम्खा गाउँपालिकाको लिमीमा चोरीका कुनै घटना नहुने हल्जी गाउँका खेण्डाप तामाङले जानकारी दिए ।
चोरीमुक्त भनेर चिनिएका लिमीका तीनवटा तिल, हल्जी र जाङ पर्छन् । यो कुनै नयाँ स्थापना गरेको मान्यता नभई परम्परादेखिकै कसैको कसैले चोरी गर्ने कुप्रवत्ति रहेको छैन । अन्नपात, लत्ता कपडादेखि भाँडाकुँडा पनि घरको आँगन तथा घरबाहिर नै राखिन्छ ।
चोरी नै नहुने भएपछि लिमीका तीनै गाउँमा घरका सामान आँगन र घरबाहिर राख्ने गरिएको वडाध्यक्ष पाल्जोर तामाङ बताउँछन् । हिउँदमा व्यापार तथा अन्य कामको क्रममा युवा सबै गाउँ बाहिर आयआर्जन गर्न जाने भएकाले गाउँमा बालबालिका र बूढाबूढी मात्र बस्ने स्थानीय बासिन्दा बताउँछन् । चोरी नै नहुने भएपछि तालाको आवश्यकता नपरेको वडाध्यक्ष तामाङले बताए ।