धरानः उदयरपुरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि आएको एक २३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी साउन २१ गतेदेखि धरान–१८, बुद्धचोकमा रहेको एक होटलमा श्रीमानसँग बस्दै आएको खुलेको छ । उनलाई प्रतिष्ठानको आइसोलेसन ल्याइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनमा आन्द्रा सम्बन्धी समस्या रहेकोले गर्दा अप्रेशन गर्नुपर्ने र त्यसको लागि पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।
उता इटहरीमा १३ संक्रमित थपिएका छन् । उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतले नगरपालिकाको एक कर्मचारीमा समेत कोरोना पोजेटिभ भेटिएको बताइन् ।
यता बराहक्षेत्र ५ सिमरवनका एक पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । भारतीय सेनामा कार्यरत रहेर केही दिन अगाडि घर फर्केर होम क्वारेन्टाइनमा बस्दै आएका २० वर्षीय पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । कोरोना पुष्टि भएसँगै वराहक्षेत्र ३,४ र ५ मा आवतजावत कडाइ गरिएको छ । उनलाई गोठगाउँस्थित कोभिड अस्पतालमा पठाइएको बराहक्षेत्र ३ का वडा अध्यक्ष रुद्रबहादुर दाहालले बताए ।
यस्तै, विराटनगरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार बुधबार राति ८ जना महिला र १९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १५ वर्षदेखि ७४ वर्ष उमेर समूहका छन् । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ३८२ पुगेको छ । ती मध्ये ६९ जना उपचारपछि घर फर्किएका छन् ।
महानगरपालिकाको तथ्यांकअनुसार विराटनगरमा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भइसकेको छ । बुधबार मात्र एकजनाको मृत्यु भएको थियो ।