काठमाडौंः गर्मीको समयमा लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ । यो बीचमा एक अध्ययनले नयाँ खुलासा गरेको छ । अध्ययन अनुसार रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने गर्दछ । रक्सीमा हुने ‘अक्टानल’ नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो ।
सामान्तयाः मानिसले सास फेर्दा निस्कने कार्बनडाई अक्साईडका कारण लामखुट्टेले मानिस पत्ता लगाएपनि अक्टानलले लामखुट्टेलाई बढी आकर्षित गर्छ । रगतमा रहेको नशाका कारण लामखुट्टेलाई भने असर नगर्ने अमेरिकी अनुसन्धान प्रतिवेदन जर्नल अफ मस्विटो कन्ट्रोल एसोसिएशनले उल्लेख गरेको छ ।
लाखौं वर्षदेखि मानिसको रगत चुस्न अभ्यस्त भएका कारण लामखुट्टेमा विकार पचाउने प्रणाली विकास भइसकेको अध्ययनले देखाएको छ । मानिस वा प्रकृतिबाट खराब तत्व किरा फट्याङ्ग्राले चुसेपनि त्यसलाई विकारका रुपमा निकाल्न सक्ने क्षमताका कारण लामखुट्टेमा रक्सीले असर नगर्ने लन्डनको नेचुरल हिस्ट्री म्युजियमले उल्लेख गरेको छ । यसैगरी, ओ ब्लड ग्रुपका मानिसप्रति लामखुट्टे बढी आकर्षित हुने भएकाले उनीहरु समेत लामखुट्टेको नजरमा हुन्छन् । गर्भवती, लामो सास फेर्ने ब्यक्तिलाई लामखुट्टेले बढी टोक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।