Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवापुस्तामा कोरोना संक्रमण बढी

हाम्रो कोशी आवाज
भाद्र ६ २०७७, शनिबार
धरानमा युवापुस्तामा कोरोना संक्रमण बढी

धरानः धरानमा हालसम्म संक्रमितमध्ये युवापुस्तामै बढी संक्रमणको जोखिम रहेको पाइएको छ । युवापुस्तामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ । तर, यही उमेर समूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन् र जोखिममा छन् ।
युवापुस्ता बढी लखरलखर हिँड्ने, सामाजिक दुरी कायम नगर्ने, मास्क पनि प्रयोग नगर्ने पाइएकोले पनि संक्रमित बढेको पाइएको चिकित्सकले बताएका छन् । ‘अहिले म युवा हुँ र तन्दुरुस्त छु, त्यसैले मलाई कोरोना लाग्दैन भन्ने नपाले हुन्छ’, धरान उपमहानगरपालिका उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले भने, ‘किनभने अहिलेसम्मको डाटाअनुसार धरानमा संक्रमितमध्ये युवापुस्ता नै बढी छन्, उनीहरूले सरकारी स्वास्थ्य निर्देशिका पालना नगर्दा पनि यसो भएको हुनसक्छ ।’
धरानमा हालसम्म १०१ जनामा कोरोना पुष्टि भइसकेको छ । स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार हालसम्म २५ जना होम आइसोलेसनमा छन् भने ६० भन्दा बढी निको भएर घर फर्किइसकेका छन् । यी संक्रमितमध्ये युवापुस्ता नै बढी रहेको उनले जानकारी दिए । तीमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवापुस्ता बढी रहेको उनले जानकारी दिए । यी उमेर समूहका ५० प्रतिशत रहेको उनले जानकारी दिए । यस्तै, यीमध्ये ३१ देखि ४० वर्ष उमेर समूहका लगभग ३० प्रतिशत रहेका छन् । अन्य २० प्रतिशतचाहिँ ४० कटेक अनि वृद्धवृद्धा र बालबालिका रहेको उनले जानकारी दिए ।
उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका संक्रमितमध्ये ७० प्रतिशत नै युवापुस्ता रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ‘खासमा यहाँ देखिएका भनेका बाहिरी जिल्लाबाट यहाँ कार्यरत् बहुमसंख्यक नर्स, डाक्टर नै हुन् । उनीहरूको उमेर समूह भनेको २५ देखि ४० वर्ष सम्मका छन् ।’ उनले भने ।
धरानमै ५ वर्षीया बालिकादेखि ७ र ८ वर्षीय बालकलाई पनि कोरोना देखिएको छ । यस्तै, धरानमा १० वर्षीय बालक र १० वर्षीय नै बालिकामा पनि कोरोना पुष्टि भइसकेको महाशाखा प्रमुख मेहता बताउँछन् । यस्तै, धरानमै एकजना १६ वर्षीया किशोरीमा पनि संक्रमण पुष्टि भइसकेको उनले जानकारी दिए ।
‘युवा उमेर समूहका व्यक्तिहरू धेरै चलायमान हुन्छन् । त्यसैले बढी संक्रमित भएका छन्’, महाशाखा प्रमुख मेहताले भने, ‘युवा उमेरसमूहमा बढी संक्रमित भेटिए भनिएपनि ६० वर्ष माथिका पनि जोखिममै छन् । उनीहरूमध्ये ९ जना ६० वर्ष माथिका छन् ।’
डा. निदेश सापकोटाले चलायमान युवा समूहमा संक्रमण देखिनुले आगामी अवस्था गम्भीर रहेको संकेत गर्ने गरेको बताए । ‘यो समूह बढी चलायमान हुँदा यही समूहले घरमा रहेका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई संक्रमण सार्ने जोखिम बढी रहन्छ, त्यसैले सचेत रहनुको विकल्प छैन ।’
बाहिर लखरलखर डुलिरहने, साथीभाइ भेटिरहने हो भने नै समुदायमा संक्रमणको जोखिम फैलिने अवस्था रहिरहने उनको भनाइ छ । ‘बाहिरफेर डुलिरहने, बजार घुम्ने, साथीभाइ भेट्ने गर्नाले नै समुदायमा जोखिम बढेको हो’, उनले भने, ‘अहिलेसम्म संक्रमितमध्ये युवापुस्ताले नै समुदायमा कोरोना फैलाएको देखियो ।’ उनले बाहिरफेर निस्किएपनि सुरक्षात्मक मापदण्ड प्रयोग गरिनुपर्ने बताए ।

धरानमा लक्षण नभएकै संक्रमित बढी
उनले धरानमा लक्षण नदेखिएका नै संक्रमित बढी रहेको बताए । ‘अहिलेसम्मको रिपोर्टले पनि के भन्छ भने लक्षणसहितका संक्रमित धरानमा कम छन्, लक्षण नदेखिएका संक्रमित नै बढी छन् । त्यसमा पनि युवापुस्ता बढी । लक्षण नदेखिएपछि कसलाई कोरोना सरेको छ भन्ने नै थाहा हुँदैन, युवापुस्ताले झन् थाहा पाउँदैनन्, तिनीहरूले नै अन्यलाई भाइरस सारिसकेपछि जोखिम बढी हुने नै भयो ।’
उनले अहिलेसम्म बीपीमा मृत्यु भएकाहरू अधिकांश वृद्धवृद्धा नै रहेको बताउँदै युवापुस्ताले कोरोना भगाउँछन् भन्ने सोंच रहनु र उनीहरूकै कारणले अन्य वृद्धवृद्धाको ज्यान जोखिममा रहेको प्रष्टयाए । चिकित्सकले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताउँदै आएका छन् । ‘तर त्यो पनि हुन सकिरहेको छैन’, डा. सापकोटा भन्छन्, ‘युवापुस्ता चलायमान भइदिने र यसले गर्दा घरका अन्य सदस्य जस्तैः दीर्घरोगी, जो नियमित औषधी खाइरहेका छन् उनीहरू र वृद्धवृद्धालाई कोरोना सार्दै जोखिम बढाइरहेका छन् ।’ उनले सकेसम्म भीडभाड नगर्ने, भौतिक दूरी राख्ने, कसैले कसैलाई प्रत्यक्ष नछुने, मास्क लगाउने र हात धुने गरेको खण्डमा संक्रमण निकै कम भएर जाने बताए ।

प्रकाशित मिति: भाद्र ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend