धरान (एजेन्सी) चीनले कोरोना रोक्न खोप लगाउन थालिएको दाबी गरेको छ ।
आफ्ना नागरिकलाई खोप लगाउन थालेको उसको दावी छ । चीनको कोभिड–१९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले आपतकालीन प्रयोगका लागि खोप लगाउन सुरु गरिएको जानकारी दिएका हुन् । ‘कोरोनाको उच्च जोखिममा रहेका मानिस जस्तै ः स्वास्थ्यकर्मी, महामारी नियन्त्रक र भन्सार कर्मचारीमा खोप प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको छ,’ शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) मा बोल्दै चङले भने ।
उनका अनुसार आपतकालीन प्रयोगका लागि दिएको आवेदनअनुसार चीनको केन्द्र सरकारले व्यापक छलफल र अध्ययनपछि जुन २४ मा योजनालाई अनुमोदन गर्दै अगस्ट २२ तारिखदेखि खोप लगाउन अनुमति दिएको हो ।
यस्तै, चाइना नेसनल बायोटेक ग्रुपका प्रमुख याङ स्याउमिङले कम्पनीले खोपको तेश्रो चरण परीक्षणका लागि थुप्रै मुलुकसँग सम्झौता गरिसकिएको र अहिलेसम्म झन्डै २० हजार मानिसमा परीक्षण भइसकेको बताएका छन् । ‘खोप सुरक्षाका हिसाबले ग्यारेन्टी गर्नयोग्य छ तरर यसको प्रभावकारिताबारे गम्भीर अध्ययन भइरहेको छ,’ उनले भने ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले केही दिनअघि दिएको जानकारीअनुसार विश्वमा कोरोनाविरुद्ध विकास भएका खोपमध्ये अहिलेसम्म ६ वटा तेस्रो चरणको परीक्षण तहमा पुगेका छन् भने तीमध्ये ३ वटा खोप चीनले बनाएको हो ।